विराटनगर– २०८२ सालको दुई विद्रोह नेपालको राजनीतिक इतिहासमा सुनौलो अक्षरले अंकित हुनेछ । पहिलो— जेन्जी विद्रोह । सडकबाट उठेको असन्तोष, पुरानो शासन शैलीविरुद्धको प्रत्यक्ष प्रश्न र युवाले नेतृत्व गरेको एक पुस्तागत विद्रोह । यस विद्रोहले नेपाललाई केवल सत्ता परिवर्तनतर्फ होइन, नयाँ राजनीतिक युगतर्फ डो¥याएको छ । दोस्रो— नेपाली कांग्रेसभित्रको महाधिवेशन प्रतिनिधिको विद्रोह । शान्त देखिने पार्टी संरचनाभित्र जम्दै आएको असन्तोषको विस्फोट ।
यो विद्रोह कुनै व्यक्तिविरुद्ध मात्र होइन— दलीय अभ्यास, नेतृत्वको उत्तरदायित्व र आन्तरिक लोकतन्त्रका पक्षमा उठेको आवाज हो । यदि जेन्जी विद्रोहले राज्यको दिशा बदल्यो भने, महाधिवेशन प्रतिनिधिको विद्रोहले नेपालको दलीय राजनीतिमा आन्तरिक लोकतन्त्रको थिति बसाउने इतिहास रचेको छ ।
२०८२ साल यसकारण केवल संकटको वर्ष होइन— परिवर्तनको वर्ष बनेको हो । र यसको प्रभाव आजको राजनीतिमा मात्र होइन, भोलिको नेपालमा लामो समयसम्म प्रतिध्वनित भइरहनेछ ।
नेपालीमा एउटा उखान छ— “नपत्याउने खोलाले बगाउँछ ।” जेन्जी आन्दोलनमा यो उखान पूर्णरुपमा चरितार्थ भयो । राजनीतिले गम्भीर रूपमा नलिएको उमेर समूह— नवयुवा जेन्जी पुस्ता । सडकमा निस्कँदा उनीहरूलाई धेरैले क्षणिक आवेग ठाने । सामाजिक सञ्जालको हल्लाको उज ठाने । धेरैले पत्याएनन् । कतिले उपेक्षा गरे । तर भदौ २३ र २४ गते यही जेन्जी पुस्ताको नेतृत्वमा भएको विद्रोहले नेपालको राजनीतिक इतिहास अपरिवर्तनीय रूपमा बदलिदियो ।
नव युवाको यो विद्रोह विरोध मात्रै थिएन । यसले नेपाललाई युगान्तकारी परिवर्तनको मोडमा पु¥याएको छ । जेन्जी विद्रोहले नेपालमा नयाँ युग सुरुवातको शंखघोष गरेको हो । यस विद्रोहले देशमा भ्रष्टाचारविरुद्धको स्पष्ट सवाल, अपारदर्शिताविरुद्धको प्रतिरोध, बेरोजगारीको मूल कारणमाथि बहस र सबैभन्दा महत्वपूर्ण— राजनीतिमा नयाँ पुस्ताको नेतृत्व अपरिहार्य छ भन्ने राष्ट्रिय बहस जन्माइदिएको छ । नपत्याइएको यो पुस्ताले अहिले देशको एजेन्डा तय गरिरहेका छन् । र नेपाल यही पुस्ताको दबाबमा नयाँ राजनीतिक युगतर्फ अघि बढिरहेको छ ।
जेनजी पुस्ता— सन् १९९७ देखि २०१२ बीच जन्मिएका नेपालीहरू— एक असामान्य यथार्थबीच सामाजिक सञ्जालसँगै हुर्किए । उनीहरूले सामाजिक र आर्थिक असमानता केवल किताबमा होइन, दैनिक जीवनमै देखे । राजनीतिक दलका संरक्षक दलाल, बिचौलिया र भ्रष्ट माफियालाई संरक्षण दिनेहरू हुन् भन्ने कठोर सत्य उनीहरूले चाँडै बुझ्न थाले ।
भ्रष्टाचार व्यक्तिगत कमजोरी होइन, संस्थागत प्रणाली बनेको देखे । नीति निर्माण जनताको हितका लागि होइन, अनैतिक शक्ति केन्द्रहरूको प्रभावमा निर्देशित भएको अनुभूति गरे । देशभित्र युवाको सम्भावना कुण्ठित हुँदै जाँदा उनीहरूले विमानस्थलमा खाडी मुलुकतर्फ उड्ने युवाहरूको अन्तहीन लर्को देखे ।
जुन आशा होइन, बाध्यता थियो । यहाँ प्रतिभा र परिश्रम होइन— पहुँच, दलाल र दलतन्त्रले सिङ्गो मुलुक कब्जा गरेको उनीहरूले देखे मात्र होइन, आफैंले भोगे । र यही भोगाइ जेन्जी पुस्तालाई मौन दर्शक होइन, इतिहास बदल्ने पुस्ता बनाइदियो । यही असमानता, यही अन्याय र यही कुण्ठाले अन्ततः नेपालको राजनीतिलाई नयाँ मोडमा ल्याएको छ ।
सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा दीर्घकालदेखि जम्दै आएको अन्याय, असमानता र अपारदर्शिता निवारणको क्षणमा देशलाई ल्याइपु¥याएको छ । आजको पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको साधन होइन— विचार व्यक्त गर्ने, प्रश्न उठाउने र परिवर्तन खोज्ने सबैभन्दा शक्तिशाली माध्यम हो । यही माध्यमलाई अस्त्र बनाएर उनीहरु अघि बढिरहेका छन् । जेनजी पुस्ताले देशमा भ्रष्टाचार कुनै एक क्षेत्रमा सीमित नभई राज्यका प्रत्येक संरचना भित्रबाटै क्षय गरिरहेको बुझेका छन् । र जबसम्म यसको अन्त्य हुँदैन, न्याय, समान अवसर र लोकतन्त्र केवल शब्दमै सीमित रहने बुझेका छन् ।
प्रविधिमा हुर्किएको यो पुस्ता सामाजिक सञ्जालमा मात्र होइन— सडकमा उत्रिएर सामाजिक न्याय, पारदर्शिता र समावेशी शासनको बहस निम्तियाएको छ । उनीहरूको एजेन्डा कुनै व्यक्तिगत स्वतन्त्रता वा जीवनशैलीको विषयमा सीमित छैन । यो गहिरो राजनीतिक र संस्थागत सुधारको माग हो— जसले नेपालको भविष्यको दिशा पुनःपरिभाषित गर्न खोजिरहेको छ ।
जेनजी आन्दोलनकारीहरूले लोकतान्त्रिक थितिको शासनको स्पष्ट परिकल्पना अघि सारेका छन् । यसको अर्थ— नागरिकले आफ्नो दैनन्दिन जीवनका आधारभूत आवश्यकताहरू जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी र प्रशासनिक सेवा कसैको ज्यु–हजुरी, चाकरी वा सोर्स–फोर्समा निर्भर नभई सहज, सम्मानजनक र समान रूपमा प्राप्त गर्न सक्ने व्यवस्था खोजेका छन् ।
उनीहरूको बुझाइमा, सरकारी वा निजी सेवा अतिरिक्त घुस नदिई, बिचौलिया नखोजी सहज रूपमा पाउनु नै लोकतान्त्रिक शासनको आधार हो । यही प्रणालीले राज्यप्रति जनताको विश्वास बढाउँछ र नागरिकलाई निर्भर होइन— सशक्त बनाउँछ भन्ने बुझाई छ ।
जेनजी पुस्ताले योग्यता र क्षमतामा आधारित प्रणाली पनि खोजेका छन् । उनीहरू नातावाद, कृपावाद र राजनीतिक पहुँचका आधारमा हुने नियुक्ति, पदोन्नति र अवसरको वितरणलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । विद्यालयदेखि विश्वविद्यालयसम्म, कर्मचारीतन्त्रदेखि राज्यका सम्पूर्ण निकायमा दलतन्त्र र दलालको रजगज अन्त्य गर्नुपर्ने उनीहरूको अडान छ ।
उनीहरूको दृष्टिमा, शिक्षा, रोजगारी, नेतृत्व वा अवसरको पहुँच सबैका लागि समान हुनुपर्छ । यसले संस्थागत उत्कृष्टता मात्र होइन, सामाजिक न्याय पनि सुनिश्चित गर्छ । प्रविधिमा हुर्किएको यो पुस्ता पुरानो पुस्ताभन्दा अझ सक्षम र सचेत छ । त्यसैले उनीहरूले डिजिटल प्रणालीमार्फत सेवा प्रवाह पारदर्शी, छरितो र प्रभावकारी बनाउन जोड दिइरहेका छन् ।
अनलाइन आवेदन, ट्र्याकिङ सिस्टम, खुला डाटा र नागरिक सहभागिता बढाउने प्रविधिको प्रयोग उनीहरूको प्राथमिकता हो । यसले भ्रष्टाचार घटाउने मात्र होइन— उत्तरदायित्व र सहभागिता दुवैलाई मजबुत बनाउँछ । जेनजीको एजेन्डा केवल सुधारमुखी होइन— समावेशी पनि छ । जात, वर्ग, लिंग, क्षेत्र वा पृष्ठभूमिको आधारमा कुनै पनि विभेद नहोस् भन्ने उनीहरूको चाहना छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी र नेतृत्वमा सबैको समान पहुँच सुनिश्चित गर्नु उनीहरूको लक्ष्य हो । विशेषगरी ग्रामीण समुदाय, दलित, महिला र अल्पसंख्यक समूहको सशक्तीकरण जेनजी एजेन्डाको केन्द्रीय प्राथमिकता हो । यस अर्थमा, जेनजी विद्रोह केवल एक पुस्ताको आवाज होइन— नयाँ, न्यायपूर्ण र उत्तरदायी नेपालको जग हो ।
जेनजी आन्दोलन नेपालमा केवल सामाजिक परिवर्तनको आवाज होइन— लोकतान्त्रिक पुनर्संरचनाको गहिरो माग हो । यो पुस्ताले दलतन्त्रको सीमितता नजिकबाट देखेको छ । र अब दलहरू सचिएर मात्रै प्रणाली रूपान्तरण सम्भव हुन्छ भन्ने यथार्थलाई सबैले स्विकार गर्नुपर्ने बाध्यकारी अवस्था निर्माण गरेको छ ।
उनीहरूको दृष्टिमा— दलहरूलाई लोकतान्त्रिक बनाउनु पर्छ, राजनीतिलाई
सुरक्षा संयन्त्र र राज्य संरचनाभित्र अवैध रूपमा घुस्न दिनु हुँदैन, र शासनमा पारदर्शिता र जवाफदेहिता स्थापित गर्नुपर्छ । जेनजीले शासनलाई व्यक्ति वा गुटको नियन्त्रणबाट बाहिर निकालेर सार्वजनिक उत्तरदायित्वको दायरामा ल्याउनुपर्ने अडानमा छ ।
यो विद्रोहले सुशासन र विरोधभन्दा पनि समावेशी बहस अघि बढाएको छ । उनीहरू योग्यता र क्षमताको पक्षमा उभिएर अवसरको समानता र संस्थागत उत्कृष्टताको स्पष्ट माग गरिरहेका छन् । यो विद्रोहको मूल ध्येय आजको सत्ता समीकरण बदल्नु मात्र होइन । भावी पुस्ताका लागि बस्न लायक देश बनाउनु यसको केन्द्रीय लक्ष्य हो । त्यसका लागि जेनजी पुस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई गहिराइका साथ अध्ययन गर्नुपर्नेमा विश्वास गर्छ । तथ्यहरूको विश्लेषण, अनुभवहरूको समीक्षा, र वृहत् सार्वजनिक बहस— यी सबै उनीहरूको राजनीतिक अभ्यासका आधार हुन् । अब नेपाल यही मार्गमा अघि बढ्नुपर्ने जेन्जी विद्रोहको सार हो ।
नीति निर्माणमा वैज्ञानिक सोच, समावेशी दृष्टिकोण र दीर्घकालीन राष्ट्रनिर्माणको स्पष्ट खाका । जेनजी विद्रोहले नेपालमा लोकतन्त्रलाई सुदृढ गर्ने, दलतन्त्रको सीमाबाट मुक्त गराउने र नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने नयाँ शासन प्रणालीतर्फको सार्थक कदमको मार्ग चित्र हो । यो आन्दोलन केवल वर्तमानको असन्तोष होइन— भोलिको नयाँ नेपालको खाका हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको विद्रोह
शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको संस्थापन र सत्ताशक्तिका दृश्य र अदृश्य तगाराहरू छिचोल्दै महाधिवेशन प्रतिनिधिहरुको विद्रोहले विशेष महाधिवेशन सफल भएको छ । यसले राजनीतिक संस्कार, राष्ट्रिय समस्या र समाधानका सूत्रहरू सार्वजनिक बहसमा ल्याएको छ । त्यसले थाकेको नागरिक पंक्तिमा ऊर्जाको सञ्चार गराउन सफल देखिएको छ । यो विद्रोहले देशलाई नेतृत्व गर्न सक्ने बदलिएको कांग्रेस बनाउने गरेको उद्योषको तरंग नागरिक समाज मात्र होइन— अन्य दल र राज्यका संरचनासम्म फैलिएको छ । सरकार निर्माणका बेला गठबन्धनको सहयात्री बनेका नेपाली कांग्रेसले अन्ततः कोर्स करेक्सन गर्दै छन् ।
जेनजी आन्दोलनपछि पनि नेपाली राजनीति त्यही सत्ताको लुछाचुँडी गठबन्धनको राजनीतिमा अल्झिरहयो । पुराना दलका शीर्ष नेताहरू त्यही सत्ता समीकरण, त्यही भागबन्डा र त्यही व्यक्तिकेन्द्रित खेलमा मैमत्त देखिए । माओवादी केन्द्र र एकीकृत समाजवादी एकै कम्युनिस्ट चुलोमा झिक्रा थुपार्दैछन्— तर आगो बल्ने संकेत छैन । माओवादी बाहिरी रूपमा बदलिन्छ तर पुष्पकमल दाहालको नेतृत्व चार दशकदेखि अपरिवर्तनीय छ । यो राजनीतिक अभ्यास होइन— एकप्रकारको निरंकुश शैली हो । भलै होर्डिङ बोर्ड र झन्डा चतुराइका साथ बदलिएका छन् । तर नेतृत्व, विचार, शासन शैली र सोच अपरिवर्तनीय । बदलिँदैन ।
एमालेको महाधिवेशन अभ्यास वैचारिक बहसभन्दा अनुशासनको नाममा प्रश्नको निषेधमा केन्द्रित रह्यो । प्रश्न सोध्ने प्रतिनिधिमाथि नेतृत्वको असहिष्णु व्यवहार, एक व्यक्तिको चाहनाअनुसार विधान संशोधन, र वैचारिक बहसमाथि प्रतिबन्ध— यी सबैले जेनजी आन्दोलनको भावनामाथि न्याय गर्न सकेनन् । महाधिवेशन प्रक्रिया पूरा भयो— तर आन्तरिक लोकतन्त्र निस्प्राण बन्यो ।
जेनजी विद्रोहमा ७८ जनाको अवसान तर त्यसको नैतिक जिम्मेवारी कसैले लिएको छैन । सच्चिने, रूपान्तरण हुने, जिम्मेवारी लिने— यी शब्द राजनीतिमा एकादेशको कथा बनेका छन् । ८३ वर्षका महन्थ ठाकुर ९० पुग्दासम्म सांसद बन्ने यात्रामा छन् । शक्ति यति लचिलो भएको छ कि नेताहरूले आफ्नै शारीरिक सीमा बिर्सिसकेका छन् । यसले देखाउँछ— हाम्रा शीर्ष नेताहरू शक्तिमा बसिरहने (कु)लतले ग्रसित छन् । शक्तिको आकर्षण यति बलियो छ कि मानिसले आफ्नै शारीरिक सीमासमेत बिर्सिन्छ । एमाले अध्यक्ष केपी ओली जेनजी विद्रोहलाई ‘प्रतिगमन’ भन्छन् । २४ भदौमा सेना परिचालन गर्न चाहेको दाबी गर्छन् ।
राजनीतिमा नेता हट्नु भनेको उसका आसेपासेको स्वार्थ सकिनु हो । त्यसैले कार्यकर्ताहरू पनि नेतालाई रिटायर हुन दिँदैनन् । यसले युवा पुस्ताको बाटो छेकेको छ र स्वयं नेताको दशकौंको गरिमामा ग्रहण लगाइरहेको छ । नयाँ पुस्ताले इतिहासकै शक्तिशाली विद्रोह ग¥यो । तर व्यवस्था उस्तै छ ।
यहाँ प्रश्न उठ्छ— यस्तो किन भइरहेको छ ? यसको उत्तर— जब मानिस सोच्न छोड्छ, विवेक होइन आदेश पालना गर्छ— त्यसबेला सामान्य मानिस पनि असामान्य अपराधको हिस्सेदार बन्छ । नेपाली राजनीतिमा यही भइरहेको छ । पार्टी अध्यक्षको निर्देशन विधानभन्दा माथि । अनुशासन विवेकभन्दा माथि । कार्यकर्ता नागरिक होइन— अनुयायी बन्न बाध्य । महँगीले ज्याला खाइरहेको छ । किसान निराश छन् । साना व्यवसायी थला परेका छन् । ३४ वर्षमा ३० सरकार— अस्थिरता राजनीतिक उपलब्धिको पर्याय । सुशासन नारामा सिमित ।
यस्तो अवस्थामा नेपाली राजनीतिलाई नीति, विधि र थितिमा फर्काउने कुनै सशक्त पहल कतैबाट होला भन्ने नागरिकको अपेक्षा ओइलाउँदै गएको छ । असल राजनीतिक अभ्यासले अरू पक्षलाई पनि बदलिन बाध्य पार्छ । तर नेपालमा गलत अभ्यास गर्ने स्पर्धा चलिरहेको छ— त्यो पनि जेनजी आन्दोलनपछि ।
जेनजी आन्दोलनमा प्रदर्शनकारीले गरेको सांघातिक आक्रमणपछि कार्यवाह सभापति जिम्मा लगाएर सक्रिय राजनीतिबाट अवकाश लिएको सन्देश दिई सिंगापुर गएका कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं फर्किएर पुनः सक्रिय राजनीतिमा लागे । बदलिएको समाजसँग बदलिन नसकेको एमालेसँग उनी राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन गरेर पूरानै राजनीति सुरु गरे र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी समीकरणको संवादमा छन् । नयाँ पुस्ताविरुद्ध राष्ट्रिय मेलमिलापको राजनीति गरिरहे ।
यही परिदृष्यमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विद्रोह गरेर विशेष महाधिवेशनमा सहभागी हुन बाध्य भएका छन् । अब अप्राकृतिक गठबन्धन अन्त्य, चुनावअघिको गठबन्धन खारेज, कारोबारी राजनीतिमा रोक— यी संरचनात्मक सुधारका संकेत हुन् ।
यो विशेष महाधिवेशन जडताविरुद्ध एक क्रमभंग हो । यो महाधिवेशनले तय गरेका नीति यदि कार्यान्वयन भयो भने— नेपाली राजनीतिका परम्परागत व्याकरण बदलिने निश्चित छ । यस पहलले नेपाली कांग्रेसलाई इतिहासको अवशेष होइन— भविष्यको आधार बनाउने सम्भावना पनि बढेर गएको छ । र सायद— जेनजी आन्दोलनले उठाएको सबैभन्दा ठूलो प्रश्नको यही उत्तर हुन सक्छ— अब सुझबुझपूर्ण राजनीति कि फेरि त्यही आदेशपालक सत्ता ? नेपालको राजनीति यही गम्भीर मोडमा उभिएको छ ।