विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान सह–डिन मनोज साह हलुवाई समाज सेवाको कामलाई जीवनको परम लक्ष्य बनाउँदै लायन्स क्लब अफ विराटनगरको अध्यक्ष चयन भएका छन् ।

लायन्स क्लब अफ विराटनगर ग्लोबलको अध्यक्षमा मनोज साह हलुवाइलाई पदासिन गराइएको छ । विराटनगरमा सम्पन्न विशेष पदस्थापना समारोहका अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सी का डिस्ट्रीक्ट गभर्नर बबरजङ्ग थापाले लायन्स क्लब अफ विराटनगर ग्लोबलका नवनिर्वाचित पदाधिकारी तथा नयाँ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै पदस्थापन गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै डिस्ट्रीक्ट गभर्नर थापाले लायन्स क्लबले समाजसेवा, मानवीय सहयोग तथा नेतृत्व विकासका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसनीय रहेको बताए । उनले समुदायको आवश्यकता पहिचान गरी दिगो र प्रभावकारी सेवा कार्यक्रम सञ्चालन गर्न नयाँ कार्यसमितिलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा निवर्तमान डिस्ट्रीक्ट गभर्नर विकास अधिकारी, पूर्व मल्टिपल डिस्ट्रीक्ट चेयर पर्शन इन्द्र खत्री राजन, पूर्व डिस्ट्रीक्ट गभर्नरहरू, सेकेन्ड भाइस डिस्ट्रीक्ट गभर्नर रमेश खत्री तथा प्रथम भाइस डिस्ट्रीक्ट गभर्नर लिला चिमरियालगायतले शुभकामना दिँदै नयाँ कार्यसमितिको सफल कार्यकालको कामना गरे । उनीहरूले लायन्स क्लब अफ विराटनगर ग्लोबलले सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायस्तरमा अझ प्रभावकारी सेवा कार्यहरू अघि बढाउने विश्वास व्यक्त गरे ।

नवपदस्थापित अध्यक्ष मनोज साह हलुवाइले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा मानवीय सेवाका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले क्लबको सिग्नेचर प्रोजेक्टका रूपमा नियमित ब्लड डोनेसन (रक्तदान) कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै रगत अभावका कारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यका साथ युवालाई रक्तदानतर्फ प्रेरित गरिने बताए ।

अध्यक्ष हलुवाइले “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने नारालाई व्यवहारमा उतार्दै समाजका पीडित, विपन्न तथा अभावको सामना गरिरहेका वर्गको सेवामा निरन्तर समर्पित भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

२०२४– २०२५ का अध्यक्ष सचिन मण्डलले आफ्नो कार्यकालमा भए गरेका गतिविधिका बारेमा जानकारी दिदै २०२६ का अध्यक्ष मनोज कुमार हलुवाइलाई आफ्नो पद हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा लियो क्लब अफ विराटनगर ग्लोबल लिबर्टीको समेत पदस्थापना गरिएको छ । युवा नेतृत्व विकास र सामाजिक सेवामा सक्रिय भूमिका खेल्दै आएको लियो क्लबका नवनिर्वाचित पदाधिकारीलाई पनि औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।

पदस्थापन समारोहमा विभिन्न लायन्स तथा लियो क्लबका पदाधिकारी, सदस्य, समाजसेवी, व्यवसायी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।