सप्तरी– जनता समाजवादी पार्टी (जसपा) नेपाल सुरुङ्गा नगरपालिकाको मेयरका उम्मेदवार साविर अली हुसेन पार्टीको सम्पूर्ण संगठनसहित रााष्ट्रिय स्वतन्त्र पार्टीमा मंगलबार प्रवेश गरेका छन् । रास्वपा सुरुङ्गा नगर कमिटिको कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा रास्वपाका सप्तरी क्षेत्र ४ का उम्मेदवार सिताराम साहले हुसेनलाई खादा, माला, अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

हुसेनले आफूसँगै सुरुङ्गा नगरपालिकास्थित जसपा नेपालका सम्पूर्ण संगठनसहित रास्वपामा प्रवेश गरेको बताएका छन् । उनले यस पालिकामा रहेको जसपाको ५ हजारभन्दा बढी मत अब राष्ट्रिय स्वतन्त्र पार्टीका सप्तरी क्षेत्र ४ का उम्मेदवार सिताराम साहलाई मतदान गर्ने बताएका छन् ।

कार्यक्रममा रास्वपाका सदस्य तथा निर्माण व्यवसायी विजय साहले सप्तरी क्षेत्र ४ मा रास्वपाका उम्मेदवार साहलाई अत्यधिक मतले विजय गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । सप्तरी क्षेत्र ४ स्थित खडक, बोदेबर्सान र सुरुङ्गा नगरापलिका र बलानबिहुल नगरापलिकामध्ये सबभन्दा बढी मत सुरुङ्गा नगरपालिकाबाट उम्मेदवार साहलाई प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा उम्मेदवार साहले देशमा सुशासन, पारदर्शिता, जवाफदेहिता कायम गर्न र बेरोजगारी समस्या समाधानका लागि भएको जेन्जी आन्दोलनको उद्देश्य पूरा गर्न घण्टी छापमा मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् । उनले आफू निर्वाचित भएर गएपछि ग्रामिण क्षेत्र रहेको यस क्षेत्रका किसानहरुका लागि किसान परिचय पत्र, परम्परागत खेतिको अन्त्य गरी वैज्ञानिक तरिकाले व्यवसायिक खेतिको सुरुवात, कृषिजन्य उत्पादनको प्रशोधन र बजारीकणको व्यवस्था गर्नुका साथै किसानलाई बिना धितो सुलभ ऋणको व्यवस्थाका लागि नीति निर्माण गर्ने लक्ष्य रहेको बताए ।

उम्मेदवार साहले विकासमा पछि परेको यो क्षेत्रमा जनताको मागमा आधारित विकासीय योजनाहरु निर्माणलाई प्राथमिकतामा राख्ने रास्वपाको नीति रहेकोले घण्टी छापमा मतदान गर्न आग्रह गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा खडक, बोदेबर्साइन, सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिका गरी चार वटा पालिकामा १ लाख ९ हजार ५ सय ६६ मतदाता छन् । जसमा रास्वपाबाट साह, जसपा नेपालबाट बबिकुमारी सिंह यादव, नेपाली कांग्रेसबाट पूर्वमन्त्री तेजुलाल चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट रुबी कर्णलगायत उम्मेदवार छन् ।

यसअघि दोस्रो संविधानसभाका साथै २०७४ र २०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका चोधरी निर्वाचित हुँदै आएका छन् । उनी काठमाडौंस्थित नाइटिङ्गेल स्कूलका सञ्चालक हुन् । उनी लगातार निर्वाचित भएर गए पनि क्षेत्रमा विकासीय योजना कुनैपनि ल्याउन नसकेको भन्दै मतदाता असन्तुष्ट छन् । तर उनले थारु मतका साथै नेपाली कांग्रेसका संगठनको भोट र यादव भोटले चौथो पटक जित्ने दाउमा छन् । यसअघि थारु समुदायबाट एक्लो उम्म्मेदवार हुँदै आएका तेजुलाललाई यसपटक नेकपा एमालेबाट गंगाप्रसाद चौधरीले उम्मेदवारी दिएकाले थारु मत बाँडिने आंकलन भइरहेको छ ।

यसका साथै जसपा नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव र रेणु यादवको घर भएको क्षेत्र हो । यस क्षेत्रमा यसपाली मृगेन्द्रले आफ्नी छोरी बबिकुमारीलाई जसपा नेपालबाट उम्मेदवार बनाएका हुन् । यसअघि राष्ट्रियसभा सदस्यमा मृगेन्द्र आफै, सप्तरी क्षेत्र ४ (२) बाट प्रदेश सांसदमा उनका भाई अनिरुद्रप्रसाद सिंह यादव र बोदेबर्साईन नगरपालिकाका मेयरमा अनिरुद्रका छोरा आतेशकुमार सिंह रहेकाले प्रतिनिधिसभा सदस्य पनि त्यही परिवारबाटै हुनुपर्ने भन्दै मतदाताले प्रश्न उठाइरहेका छन् । जसको परिणाम जसपा नेपालबाट नेता कार्यकर्ता पलायनको क्रम सुरु भएको छ । परिवारवादको राजनीतिमा जसपा नेपाल यो क्षेत्रमा लागेको भन्दै क्षेत्रवासी असन्तुष्ट छन् ।

एमाले उम्मेदवार गंगाप्रसाद चौधरी यसअघि २०५२ सालको मध्यावधि निर्वाचनमा निर्वाचित भएर गएपछि फर्केर यो चुनावमा मात्रै आएका हुन् ।
नेपाली कांग्रेसका सप्तरी क्षेत्र ४ का क्षेत्रीय सभापति रहेका साह पार्टी परित्याग गरेर रास्वपाका उम्मेदवार बनेका हुन् । उनलाई सम्पूर्ण साह समाजको एकलौटी समर्थनका साथै कांग्रेस र जसपाका साथै थारु र यादवविरुद्धका मतदाताको साथ पाएका छन् । यो परिदृष्यमा अहिले रास्वपाको बलियो माहोल देखिएको छ ।