विराटनगर–नेपाली कांग्रेसको विभाजनले फाल्गुन २१ गतेको निर्वाचन हुन नहुने अन्यौलता बढ्दै गएको छ । यहीबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने विरुद्धका मुद्दा फिर्ता लिने अर्को खेल पनि भइरहेको छ । नेकपा एमालेमा पनि बिभाजनको रेखा कोरिदै छ । अब प्रश्न उठ्छ– के प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमा हुन्छ ? के नेपाली कांग्रेसको आधिकारिकता विवाद सहजै टुंगिन्छ ? के रास्वपा र एमाले पनि फुट्छ ? के गगन र बालेन एक ठाउँमा आउँछन् ?
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिलगायत नयाँ नेतृत्व चयन भएकोले विवरण अद्यावधिक गर्नका लागि गगन थापा, विश्वप्रकाश शर्मालगायत विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा बिहीबार जानकारी गराएको छ । यसअघि नै उनीहरुले विशेष महाधिवेशन भइरहेको पनि आयोगलाई जानकारी गराएका थिए । यही सुचना पाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि निर्वाचन आयोगमा कांग्रेसको कुनै महाधिवेशन नभइरहेको विषयमा जानकारी पत्र पठाइसकेको छ ।
विशेष महाधिवेशनमा एउटा निकै रोचक घटना घटित भएको छ । गुरुराज घिमिरे यो महाधिवेशनबाट महामन्त्री चयन भएका छन् र सभापति गगन थापा । तर त्यही गुरुराज घिमिरे नेपाल विद्यार्थी संघको सभापति हुँदा उनकै कार्यसमितिमा गगन थापा महामन्त्री थिए । आज अवस्थामा गगन सभापति र गुरुराज महामन्त्री बन्न पुगेको छ । विशेष महाधिवेशनबाट चयन भएका कार्यसमितिमा केही कांग्रेसको विधान विपरित केन्द्रीय सदस्यहरु चयन भएका छन् । विधानतः क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्षपछि मात्रै केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ । तर केन्द्रीय सदस्य चयन भएका बिनोद चौधरी, चन्द्रकला यादव, गोमा अन्सारी पराजुली विधान विपरित केन्द्रीय कार्यसमितिमा चयन भएका हुन् । बिनोद चौधरीले अघिल्लो निर्वाचनमा विधान विपरित केन्द्रीय सदस्य निर्वाचित भएको सर्वोच्च अदालतमा मुद्दा पनि विचाराधिन छ ।
अब निर्वाचन आयोगले ऐन, कानुन अनुसार नेपाली कांग्रेसको आधिकारिकता गगन थापालाई कि शेरबहादुर देउवालाई दिने बारे निर्णय प्रक्रिया अघि बढाउनेछ । तर निर्वाचन आयोगको यही निर्णयमा फाल्गुन २१ गतेको निर्वाचन हुने नहुने निर्भर हुने भएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐनलाई आधार मानेर निर्णय गरेको अवस्थामा नेपाली कांग्रेसको आधिकारिकता शेरबहादुर देउवालाई दिने निर्णय गर्नेछ । र यदी यही राजनीतिक दलसम्बन्धी ऐनअन्तर्गत बनेको नेपाली कांग्रेसको विधानलाई पनि हेर्ने हो भने नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापालाई दिनेछ । आयोगले दलसम्बन्धी ऐनको नियमावलीलाई टेकेर फाल्गुन २१ गतेसम्मका लागि कुनैपनि निर्णय नगर्न सक्ने पनि आधार छ ।
तर निर्वाचन आयोगले कुनै एउटा पक्षलाई आधिकारिकता दिनै पर्ने अवस्था छ । गगन र देउवा दुबै पक्ष आधिकारिकता पाउनेमा ढुक्क देखिएको छ । तर त्यो निर्णय निर्वाचन आयोग गर्नेछ । तर आयोगले कुनै एक पक्षलाई आधिकारिकता दिएको अवस्थामा अर्को पक्ष सर्वोच्च अदालत पुग्ने निश्चित छ । यसले देशको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको आधिकारिकता विवाद लम्बिने निश्चित छ ।
देशकै सबभन्दा पूरानो लोकतान्त्रिक र ठूलो पार्टीको आधिकारिकता विवाद नटुंग्याई निर्वाचन होला भन्नेमा आमनागरिक नै विश्वस्त देखिदैनन् । त्यसैले प्रतिनिधिसभा सदस्य निर्वाचन फाल्गुन २१ गते नहुने अवस्था निर्माण भएको छ ।
नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंगिएको अवस्थामा पनि निर्वाचन प्रक्रिया लम्बिने अवस्था देखिएको छ । अहिले निर्वाचन आयोगमा दर्ता गराएको समानुपातिक निर्वाचनका लागि बन्दसूचीमा आधिकारिकता प्राप्त गर्ने पक्षले नाम हेरफेर गर्नै पर्ने अवस्था छ । अर्को कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि समानुपातिक बन्दसूची नबुझाएकाले निर्वाचन प्रक्रिया पुनः सुरु गर्नुपर्ने बाध्यात्मक अवस्था निर्माण भएको छ ।
फाल्गुन २१ गते निर्वाचन नहुनुको अर्को कारण पनि छ । हिमाली क्षेत्रमा हुने हिमपात र चिसोमा निर्वाचन गराउन कर्मचारी, सुरक्षाकर्मीलाई खटिन चुनौतिपूर्ण छ । र मतदातालाई पनि चिसो सिरेटो चलिरहेको अवस्थामा मतदानस्थलमा आएर मतदान गर्न हुने कठीनाईले पनि चुनाव सर्ने अवस्था देखिन्छ । अर्को फाल्गुन २१ गते निर्वाचन छ तर फाल्गुन १९ गते तराईमा होली छ । तराईमा होली मनाउन आएका कर्मचारी फाल्गुन २१ गतेको निर्वाचन गराउन कसरी कार्यक्षेत्रमा पुग्न सक्छ । तराईमा होली मनाउन नशालु पदार्थ भांग खाने परम्प्रा छ । भांगको नशा तीन दिनसम्म लाग्ने गरेकोले पनि यो निर्वाचन मितिमा चुनाव हुनेमा समस्या देखिएको छ ।
नेपाली कांग्रेसको आधाकिारिकता ढिलो चाँडो कुनै एक पक्षले पाउने निश्चित छ । आधिकारिकता नपाउने पक्षले नयाँ पार्टी दर्ता गराएर अघि बढ्ने नै छ । तर नेपाली कांग्रेस विभाजन हुन नदिन शेखर कोइरालाले गरेको प्रयासको अब कुनै मूल्य रहयो ? यो प्रश्न निकै गम्भीर छ । कोइरालाले विशेष महाधिवेशनले भएको विभाजनलाई नियति मानेका छन् । र सबैलाई आफ्नै घरमा फर्किन आह्वान पनि गरेका हुन् । आखिर यसको रहस्य के हो ?
विशेष महाधिवेशनमा सहभागी भएका मध्ये सभापति देउवाले गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुला मन्सुरलाई मात्रै ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । त्यसैले कोइराला पक्षका नेताहरु पुनः संस्थापनतिरै फर्किने अवस्था कायमै छ । यसले कोइरालाले पार्टीभित्र शक्ति सञ्चय गरेर पार्टीको नियमित महाधिवेशनबाट सभापति बन्ने दाउमा छन् । यसका लागि शेरबहादुर देउवा पनि तयार हुनेमा कोइरालाको विश्वास छ ।
कोइराला सभापति भएपछि गगन थापा नेतृत्वमा विभाजित भएका कांग्रेसलाई पुनः एकीकरण गरेर पार्टीलाई एक ढिक्का बनाउने अवस्था निर्माण हुने निश्चित छ । यो प्रक्रियामा गगन थापा विस्तारै भूमिका बिहिन बन्दै जानेछ । र कोइरालापछि नेकाली कांग्रेसको भावी नेतृत्वमा विश्वप्रकाश शर्मा र गुरुराज घिमिरे तयार हुने योजना अनुसार प्रक्रिया अघि बढिरहेको छ । तर त्यो अवस्थामा विश्वप्रकाश र गुरुराज एक भएर अघि बढ्छ कि प्रतिस्पर्धा गरेर अघि बढ्छ त्यो समयले बताउने छ ।
अब देशको राजनीति कसरी अघि बढ्छ ?
निर्वाचन आयोगले नेपालको कानुनअन्तर्गत निर्माण भएको विधानलाई भन्दा ऐनलाई प्राथमिकतामा राखेर शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गर्छ । त्यसपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचनमा कसरी भाग लिने अन्योलता सिर्जना हुन्छ । सँगै उज्यालो नेपाल पार्टीले पनि समानुपातिक बन्दसूची बुझाउन नसकेको अर्को समस्या छदै छ । त्योसँगै नेपाली कम्युनिष्ट पार्टीको पनि चुनावको मिति सार्ने आफै रणनीतिक खेल छ । नेपाली कम्युनिष्ट पार्टीले पनि फाल्गुन २१ गते निर्वाचन चाहेका छैनन् । किनकी उनको जनाधार खसकेको छ । अहिलेको अवस्थामा निर्वाचनमा गए पराजय निश्चित छ । नेकपालाई कुलमान घिसिङ र हर्क साम्पाङसँग पार्टी एकता वा गठबन्धनका लागि समय चाहिएको छ । अर्को नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेको विभाजनको पनि प्रतिक्षामा छ । यो सबै खेल भएपछि मात्रै आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबभन्दा ठूलो पार्टी बन्न सक्ने पुष्पकमल दाहालको रणनीति छ ।
यो खेललाई मुर्तरुप दिन यसअघि नै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल दिल्ली पुगेर फर्किसकेका छन् । उनी दिल्लीबाट फर्किएपछि रास्वपाबाट कुलमान घिसिङ निस्की पनि सक्यो । अब उपचारका लागि दिल्ली पुगेका प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी नयाँ सन्देश लिएर फर्किदै छन । दाहाल, सुवेदीसँगै आरजु राणा देउवा पनि दिल्ली गएर केही सहमति गरेर आएकाा छन् । जुन उजागर हुन बाँकी छ । यी सबै कारणले निर्वाचन मिति सर्ने देखिन्छ ।
तर गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो भने निर्वाचन हुने संभावना बढेर जान्छ । तर उनीहरुले पनि यसअघि बुझाइएको सामानुपातिकको बन्दसूची परिवर्तनमा जोड दिने निश्चित छ । त्यसैले थोरै समयका लागि भए पनि निर्वाचन मिति सर्ने निश्चित देखिएको छ । यो परिदृष्यमा प्रतिनिधिसभा निर्वाचन वैसाखमा हुने देखिन्छ ।
निर्वाचन मिति सरेको अवस्थामा नेकपा एमालेमा पनि बिभाजनको रेखा स्पष्ट देखिनेछ । निर्वाचन तोकिएकै समयमा फाल्गुन २१ गते नै भयो भने एमाले फुट्दैन तर मिति सर्ने बित्तिकै एमाले फुट्ने निश्चित छ । किनकी एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र रहेका प्रतिपक्षीलाई वाइपास गर्दै उम्मेदवार छनोटदेखि हरेक निर्णय प्रक्रिया अगाडि बढाएपछि पार्टी फुटको अवस्थामा पुग्छ । एमाले फुट्ने गरी निर्वाचन मिति सरेको अवस्थामा वैसाखमा निर्वाचन भएन भने नेपालमा पनि बंगलादेश जस्तै राजनीतिक स्थिति निर्माण हुने निश्चित छ । त्यसपछि संविधान खारेज भएर जाने अवस्था निर्माण हुन्छ ।
देशमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र साहले गरेको एकता पनि भाँड्ने अवस्थाको निर्माण हुँदै छ । रास्वपाका सभापति रवी लामिछानेमाथिको सबै मुद्दा फिर्ता गर्ने खेल सुरु छ । केही मुद्दा फिर्ता पनि भइसक्यो । मुद्दाहरु फिर्ता भएपछि रवीले आफै प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गर्ने षड्यन्त्र पनि भइरहेको छ । यसले बालेन रास्वपा छोड्न बाध्य हुन्छ । र बालेनले रास्वपा छोडेपछि गगन नेतृत्वको नेपाली कांग्रेसमा एकताबद्ध भएर निर्वाचन लड्ने अवस्था निर्माण हुन्छ । र त्यसपछि देशको बागडोर गगन नेतृत्वको कांग्रेसले सम्हाल्ने अवस्था निर्माण हुन्छ ।