विराटनगर– शिक्षक र विद्यालयका कर्मचारीहरुको माग सम्बोधन हुने गरी शिक्षा ऐन तत्काल सदनबाट पारित गराउन नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रेका छन् । महासंघ कोशीले बिहीबार कोशी प्रदेश मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विराटनगरमा प्रदर्शन गरेको छ । 

उनीहरुले पेशागत हकहित र सामाजिक सेवा सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएर प्रदर्शन गरेका थिए । शिक्षा ऐन संसदको चालु हिउँदे अधिवेशनबाट पारित गर्नुपर्ने उनीहरुको माग छ । 

नेपाल शिक्षक महांसघ आन्दोलन परिचालन समिति कोशी प्रदेशको नेतृत्वमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन , अखिल नेपाल शिक्षक संगठन, प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठन , नेपाल विद्यालय कर्मचारी परिषद् आन्दोलनमा उत्रेका हुन् । 

विभिन्न पेशागत र शैक्षिक माग राखेर लामो समयदेखि आन्दोलित शिक्षक र विद्यालयका कर्मचारीहरूसँग सरकारले पटक पटक वार्ता गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन सकेको छैन । यी सबै सहमति समेटिएको शिक्षा ऐन अब सदनबाट तत्काल पारित गराउन आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले बताए ।