विराटनगर– काठमाडौँको नयाँ बानेश्वरमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडपको क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको छ । प्रहरीका अनुसार बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको पौडेलको टाउकोमा पाँच टाँका लगाइएको छ ।
सरकारसँग तीन बुँदे माग राख्दै गुठीपीडितहरू माइतीघरमा धर्ना दिँदै आइरहेका छन् । पुस्तौँदेखि खेतिपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडित स्थानीय सरकारलाई सुनाउन दाङबाट काठमाडौँ आएका हुन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको थियो । प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । यसअघि समितिले दाङमै २०८० फागुन ७ देखि १ महिना आन्दोलन गरेका थिए ।
सरकारसँग दुई बुँदे सम्झौता भए पनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएकोमा उनीहरू आक्रोशित छन् । मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनस्र्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।