विराटनगर– अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा पक्राउ परेका तीन प्रहरीसहित सहित ६ जना विरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको थुनुवा कक्षमा सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्रातीसहित ६ जना छन् । काठमाडौँको टोखा–८ बस्ने धादिङको खनियावास–४ का २६ वर्षीय क्रिप्टो कारोबारी रोशन गुरुङबाट लुटिएको १४ लाख रुपैयाँ मध्ये ७ लाख रुपैयाँ केसीको खातामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी परिचय पत्र र हत्कडी देखाउँदै क्रिप्टो कारोबारी गुरुङबाट १४ लाख रुपैयाँ लुटिएको थियो । ती प्रहरीका साथै मोरङको सुन्दरहरैचाका २४ वर्षीय कपिल बस्नेत, सुनसरीको इटहरी–६ बस्ने दोलखाको रातमाटेका ३१ वर्षीय संजोक तामाङ र विराटनगर–३ बस्ने मोरङको बेलबारीका २० वर्षीय मणिषकुमार राय पक्राउ परेका छन् । कपिल बस्नेत र संजोक तामाङबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ बरामद गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङले एक अर्ब ८७ करोड सात लाख १३ हजार एक सय ६२ रुपैयाँको क्रिप्टो कारोबार गरेको खुलेको छ ।