विराटनगर– सिरहाको नवराजपुर–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले औपचारिक रुपले शुक्रबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अहिलेसम्म यो घटनामा जम्मा ८ आरोपी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरुमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल, पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।
रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति भएको प्रहरीले जनाएको छ । बाँकीको जाहेरीमा नाम नभए पनि पञ्चायतीमा भूमिका खेल्ने व्यक्ति हुन् । चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मा पक्राउ नियन्त्रणमा लिएको थियो ।
ठूलै जनदबाब पछि बलात्कारका मुख्य अभियुक्त रुपेशलाई प्रहरीले फागुन २१ मा सीमा क्षेत्रमा पक्राउ गरेको थियो । अन्य चार आरोपीलाई शुक्रबार बिहान लुकेर बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू विरुद्ध सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढेको छ । अन्य फरार आरोपीको खोजीमा टोलीहरूले खटिएको प्रहरीले जनाएको छ ।