विराटनगर- इलामको सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो। गर्मी सुरु भएसँगै यहाँ पर्यटक पनि बढ्दै छन् । 

कन्यामको चियाबारीमा तस्बिर, भिडियो लिएपछि रमाउँदै अन्तु पुगेर पोखरीमा डुंगा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको उद्देश्य हुन्छ। तर, फर्किँदा पर्यटक रित्तै जाँदैनन्। उनीहरू नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन्।

दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिन्छ। 'कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्, 'चितवनबाट घुम्न आएका रोशन सापकोटाले भन्छन्, 'ललिपप नलिइ नआउनु भनेका छन्। ६ हजार रुपैयाँको किनिसकेँ, जुन हेर्यो, त्यहीँ लैजानुजस्तो छ।'

यी कोसेली बजारमा लहरै सजाएर राखिएको छ। एउटा पसलले सामान्यतया दैनिक  पाँचदेखि १० हजारसम्म बिक्री गर्छन्। फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् ‌। 'शनिबार नौ हजारको बिक्री भयो। कुनै दिन चार हजारको मात्रै बिक्छ। सिजन सुरु हुँदैछ। पोहोर त सिजनमा दिनकै रु ३० हजारसम्म बेचेको,' स्थानीय सुजन सापकोटाले भने।

 पर्यटक खाली हात जाँदैनन्। कोसेली बोकेर जाने चलन  बसिसकेको स्थानीय बताउँछन्। 'इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता स्थापित भएको छ।' स्थानीय व्यापारी अमीर आचार्य भन्छन्, 'फिक्कलमा सबैभन्दा बढी चल्ने कोसेली बस्तु हो। धेरै पसल छन्, कुनै खाली हुँदैनन्।'

काठमाडौँमा व्यवसाय गरिरहेका दीपक खड्काका अनुसार चिनजानका कोही इलामबाट काठमाडौँ आउने सूचना पाए इलामे कोसेली मगाइहाल्छन्। 'छोरीले इलामको मिठाइ भनेपछि मरिहत्ते गर्छिन्,' उनी भन्छन्, 'इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन।'

दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई टेवा पुगेको छ। अचेल यहाँका गाउँगाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ। यी मिठाइ अहिले ‘इलाम ब्रान्ड’का रुपमा स्थापित हुँदै गएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामा बताउँछन् ।

जिल्लामा दुई दर्जनको हाराहारीमा ललिपप उद्योग छन्। यहाँ उत्पादित मिठाइको माग स्थानीय बजारका साथै काठमाडौँ र भारतलगायत अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउँछन्। सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य ५० रुपैयाँ र ठूलो  एक सयमा बिक्री हुँदै आएको छ। उपहारका लागि कलात्मक ढङ्गले प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’समेत इलामका बजारमा पाइन्छ।

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध संकलन गर्दै आएका छन्। स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दूध बिक्री हुन्छ। छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्छन् । ललिपप, बम्बइसनजस्ता मिठाई उद्योगले पाँच हजार लिटर र भारतीय बजारमा तीन हजार लिटर दूध बिक्री हुन्छ।  

इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुन्छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ।                      (राससको रिपोर्टमा आधारित)