विराटनगर– इन्टरपोलबाट रेड नोटिस जारी भएका सहित बलात्कारका तीन आरोपीलाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई–२ चियाबारीका २७ वर्षीय आशिष बुढाथोकीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले भनेको छ ।
उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भए पछि इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । बलात्कार आरोपमा बैतडीमा दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीको शिवनाथ–१ कुस्मौतघाटका ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साउदले ती बालिकालाई फकाएर स्थानीय सालको ईजरस्थित जंगलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अर्को एक घटनामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बैतडी मेलौली–१ का २५ वर्षीय मनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षको उजुरीका आधारमा उनलाई पाटन–१ गडालेकबाट पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।