विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ । 

पाँच वर्षदेखि निरन्तर मिल्स गोल्डकप फुटबल ट्रष्टले विराटनगरको जुट मिल खेल मैदानमा गोल्डकप आयोजना गर्दै आएको छ । आइतबारदेखि सुरू भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १–० गोलले पिराजित गर्दै फ्युजन फुटबल क्लब सेमिफाइलनमा पुगेको हो ।
 
जितको लागि फ्युजन फुटबल क्लबका युवराज थापाले खेलको ६८ औँ मिनेटमा गरेको  निर्णायक गोल निर्णायक रहयो । रितेस तामाङले निकालेको क्रस पासलाई युवराजले गोलमा परिणत गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफममा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

खेलको प्लेयर अफ द म्याच उदयपुरको गोलकिपर अनिल मगर घोषित भए । उनले नगद २ हजार १ सय पुरस्कार पाए । गोल्डकप विजेताले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन भने उपविजेताले ५१ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा भारतको एक टिमसहित ८ वटा टिमको सहभागिता रहेको छ । सोमबारको खेल घरेलु टिम पेमा स्पोर्टीङ्ग क्लब र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच हुने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कोइरालाले मिल्स गोल्डकपलाई निरन्ता दिन विराटनगर महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउन मिल्स गोल्डकपको ठूलो भूमिका रहेको उनको भनाई थियो ।