विराटनगर — सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजनाका लागि दलित परिवारको घर भत्काइएको घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । दीपक मल्लिक डोम र दलित अगुवाहरू कानुनी परामर्शपछि शनिबार दिउँसो उजुरी दर्ता गराएका हुन् ।

दलित अगुवासहित पुगेका पीडितहरूले जिल्ला प्रहरी कार्यालय, सिरहामा जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा उजुरी दिएका हुन् । जाहेरीमा  पीडित मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाएका छन्। उनीहरूले मल्लिकको घर तोडफोड गरी विस्थापन गरेको तथा जातीय भेदभाव गरेको आरोप लगाइएको छ।

प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार उजुरी दर्तासँगै कानुनी प्रक्रिया अघि बढाइएको छ। जातीय भेदभावको कानुनअनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। फागुन १० मा गाउँपालिका अध्यक्ष यादव, पूर्ववडाध्यक्ष यादव र बजरंगी बाबाले महायज्ञस्थलमा रहेको  मल्लिकको घर  ’अछुत’ भन्दै  डोजर लगाएर भत्काएका थिए । प्रहरीले शुक्रबार साँझ गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई पक्राउ गरिसकेको छ भने बजरंगी बाबा अझै फरार रहेको छ। प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ।

घर भत्काइएपछि मल्लिक परिवारलाई गाउँकै एकान्तमा रहेको सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बस्न बाध्य पारिएको छ । यस घटनाले संसदभित्र पनि व्यापक विरोध भएको छ । सांसदहरूले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

नेपालको संविधानले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार दोषीलाई कैद र जरिवाना हुन सक्छ । न्यायको आशामा उजुरी दिएको पीडित परिवारले बताएका छन् । अब सम्बन्धित निकायहरूले दोषीमाथि कानूनी कारबाही गरी पीडितलाई न्याय दिलाउन आवश्यक कदम चाल्नुपर्ने देशभरिबाट आवाज उठिरहेको छ ।