विराटनगर– साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार प्रा.डा. देवी नेपाल, प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, साहित्यकार एनपी आचार्य, प्रा.डा. मेदिनीप्रसाद शर्मा नेपाल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललगायतले पुस्तक विमोचन गरेका छन् । 

समालोचना संग्रहमा पोखरेलले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकका व्यक्तित्व र कृतित्वमाथि समाचोलना गरेका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको १०७ औँ कृति ‘समदृष्टि’ समालोचना संग्रहमाथि साहित्यकार हरि कट्टेलले समीक्षा गरेका थिए । समीक्षक कट्टेलले समालोचना साहित्य लेखे जस्तो सजिलो नहुने बताए । उनले अरुले लेखेको कृति केस्रा–केस्रा केलाएर समालोचना गर्नु सामान्य बौद्धिकताले नभ्याउने उनको टिप्पणी थियो । पोखरेलको ‘समदृष्टि’ निकै उत्कृष्ट संग्रहका रुपमा आएको कट्टेलले बताए । 

कार्यक्रममा प्रा.डा. देवी नेपाल, प्राध्यापक न्यौपाने, समालोचक दाहाल, आयोजक संस्थाका कार्यबाहक अध्यक्ष ढुंगेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले ‘समदृष्टि’मा साहित्यकार तथा उल्लेखित रचनाहरुको सवल र दुर्वल पक्षको गहण रुपमा नियालेर गरेको समालोचना बौद्धिक र फरक रहेको बताए । लेखक पोखरेलले आफूले निकै मिहिनेत गरेर समालोचना संग्रह तयार पारेको जानकारी दिए । पोखरेल नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्षसमेत हुन् । उनी विशेषतः मुक्तक लेख्न रुचाउँछन् । उनका यसअघि मुक्तकसहित विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।