मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा लेक लागेर ११ पर्यटकले ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये नौ जना विदेशी तथा दुई जना नेपाली नागरिक छन्।
सबैभन्दा बढी भारतीय पर्यटक मुक्तिनाथ मन्दिर दर्शन तथा मुस्ताङ भ्रमणका क्रममा ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । लेक लागेर ज्यान गुमाउने पर्यटकमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा मृत्यु भएको छ।
मृत्यु हुने पर्यटकहरू ५८ देखि ८१ वर्ष उमेर समूहका छन्। जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार २०८१ को वैशाखमा २, जेठमा १, असोजमा २, कात्तिकमा ५ र पुसमा १ जनाको मृत्यु भएको छ। यस्तै ६३ वर्षीय अमेरिकी नागरिकसमेत यस अवधिमा ज्यान गुमाएका छन् । २०८० मा लेक लागेर १७ जनाले ज्यान गुमाएका थिए जसमा ११ विदेशी तथा ६ नेपाली नागरिक थिए।
विशेषज्ञहरूका अनुसार समथर क्षेत्रबाट उच्च हिमाली भूभागमा हतारहतार यात्रा गर्दा शरीरले उचाइ अनुकूलन गर्न नसक्दा लेक लाग्ने सम्भावना उच्च हुन्छ। सामान्यत: समुद्री सतहबाट ३,८०० मिटरको उचाइमा पुग्दा लेक लाग्न थाल्छ। यात्रुहरूलाई धैर्यपूर्वक यात्रा गर्न, भरपूर पानी पिउन र आवश्यक भएमा चिकित्सकीय परामर्श लिन सुझाव दिइएको छ। उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा सुरक्षित उपायहरू अवलम्बन गर्न पर्यटन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।