विराटनगर–  बाँकेको डुडुवा गाउँपालिकास्थित बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएपछि तनाव सिर्जना भएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले उक्त ट्यांकरमा आगजनी गरेका छन् भने प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा गरेका छन्। स्थिति नियन्त्रणमा लिन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफैँ घटनास्थल पुगेका छन्।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार ठक्कर दिएपछि ट्यांकरका चालकलाई नियन्त्रणमा लिई बेतहनी प्रहरी चौकीमा राखिएको थियो। त्यसपछि स्थानीय झनै आक्रोशित बनेर प्रहरी चौकीमै पुगेर ढुंगा प्रहार गर्न थालेका थिए।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएलगत्तै प्रहरी घटनास्थलमा ढिलो पुगेको थियो, जसका कारण आक्रोशित भीडले ट्यांकरमा आगजनी गरिसकेका थिए। अहिले स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।