विराटनगर– नेपाल पत्रकार महासंघ मोरङले एक लाख एक सय राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरेको छ । 

महासंघले २५ हजार २५ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको हो । 

पत्रकार महासंघको कार्यसमितिको शुक्रबार बसेको बैठकले उक्त पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठकले बताइन् । 

उनले प्रेस स्वतन्त्रता दिवसको अवसरमा ६० वर्ष उमेर पूरा गरेका बरिष्ठ पत्रकारलाई सम्मान गर्ने, महासंघले वार्षिक क्यालेन्डर प्रकाशनका लागि रेवतीरमण निरौलाको संयोजकत्वमा बाबुराम निरौला र मुकेश यादव सदस्य रहने गरी समिति गठन गरिएको बताइन् । 

बैठकले नेपाल पत्रकार महासंघ मोरङको पूर्वउपाध्यक्ष शरदराज सुवेदीकी आमा मीना सुवेदी र पूर्वकार्यसमिति सदस्य विजयहरी खतिवडाकी आमा देवधारा खतिवडाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।