काठमाडौँ — पछिल्ला वर्षहरूमा प्रविधि क्षेत्र, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा लगानी गर्नेहरूको सम्पत्ति उल्लेख्य रूपमा वृद्धि भएको छ। फोर्ब्सको २०२५ को अर्बपति सूचीका अनुसार विश्वभर ४६ जना नयाँ अर्बपति एआई क्षेत्रमा लगानी गरेर बनेका छन् ।

वार्षिक रूपमा सार्वजनिक हुने ‘फोर्ब्स बिलिनियर्स लिस्ट’ मा नेपालबाट यसपटक पनि उद्योगपति विनोद चौधरी एक्लै समावेश भएका छन् । फोब्र्सका अनुसार हाल विश्वभर ३ हजार २८ अर्बपति छन् जसको कुल सम्पत्ति १६.१ ट्रिलियन डलर पुगेको छ । शीर्ष १० अर्बपतिमध्ये ७ जना प्रविधि क्षेत्रमा आबद्ध छन् । यसमा एआईमा लगानी गर्नेहरूको प्रमुख योगदान देखिएको छ ।

फोर्ब्सकी पत्रकार फिबी लिउको ‘एआई बूम बिलिनियर्स’ लेख अनुसार पछिल्लो समय प्रविधि कम्पनीहरूको बजार मूल्यांकन तीव्र रूपमा बढेको छ । लार्ज ल्याङ्ग्वेज मोडेल –एलएलएम) का नयाँ संस्करण तथा व्यवसायमा एआईको बढ्दो प्रयोगका कारण प्रविधि उद्यमीहरू धनी भइरहेका छन् ।

यस वर्षको सूचीमा पहिलो स्थानमा रहेका इलन मस्कको कुल सम्पत्ति ३४२ अर्ब डलर पुगेको छ । उनको एआई कम्पनी (एक्सएआई ) ले मात्र डिसेम्बर २०२४ मा ६ अर्ब डलर लगानी आकर्षित गरेको थियो । उनले एक्सएआईलाई आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्ससँग ३३ अर्ब डलरको सेयर कारोबार (अल–स्टक डिल) मा बिक्री गरेका थिए ।

मस्कपछि दोस्रो स्थानमा मेटाका प्रमुख मार्क जकरबर्ग छन्, जसको सम्पत्ति २१६ अर्ब डलर पुगेको छ । एआईमा मेटाले गरेको ठूलो लगानीले उनलाई फाइदा पुगेको देखिन्छ । तेस्रो स्थानमा रहेका अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति २१५ अर्ब डलर पुगेको छ जसले उनको अघिल्लो वर्षको सम्पत्तिमा १०% वृद्धिको संकेत गर्छ ।

चौथो स्थानमा रहेका ल्यारी एलिसन (ओर्याकल) को सम्पत्ति १९२ अर्ब डलर पुगेको छ भने पाँचौं स्थानमा रहेका बर्नार्ड अर्नल्ट (लुई भुतोँ मोई हेनेसी) को सम्पत्ति घटेर १७८ अर्ब डलर पुगेको छ। गुगलका संस्थापक ल्यारी पेज र सेर्गेई ब्रिन क्रमशः सातौं र आठौं स्थानमा छन् । माइक्रोसफ्टका पूर्व–सीईओ स्टिभ बल्मर भने दसौं स्थानमा छन् ।

भारतीय उद्योगपति मुकेश अम्बानी ९२.५ अर्ब डलर सम्पत्तिसहित १८ औं स्थानमा पुगेका छन् जसले उनलाई शीर्ष १० बाट बाहिर निकालेको छ । गौतम अडानी ५६.३ अर्ब डलरसहित २८औं स्थानमा छन् ।

नेपालबाट सन् २०१३ यता लगातार फोब्र्सको सूचीमा रहँदै आएका विनोद चौधरीको सम्पत्ति यस वर्ष २६ अर्ब रुपैयाँ (१.८ अर्ब डलर) ले वृद्धि भई २ अर्ब डलर पुगेको छ ।

सन् २०२४ मा १,७६४ औं स्थानमा रहेका चौधरी यसपटक १,७२९ औं स्थानमा उक्लिएका छन् । उनको सीजी फुड्स तथा हस्पिटालिटी क्षेत्रमा गरिएको लगानी वृद्धि यसको मुख्य कारण रहेको फोब्र्सले उल्लेख गरेको छ ।
विश्लेषकहरूका अनुसार एआई, विद्युतीय सवारी, सेमिकन्डक्टर चिप, ऊर्जा प्रविधि लगायतका क्षेत्रमा ठूलो लगानी भइरहेकाले आउने वर्षहरूमा अझ धेरै नयाँ अर्बपति देखा पर्ने सम्भावना छ । अमेरिकाको अतिरिक्त कर नीति तथा संरक्षणवादी व्यापार नीतिले केही अर्बपतिहरूलाई चुनौती सिर्जना गरे पनि प्रविधिको वृद्धिले नयाँ अवसरहरू प्रदान गर्ने देखिन्छ ।