विराटनगर– उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष उद्योगी राजेन्द्र राउतले विद्यमान कानुनी झमेला र अहिलेको प्रतिस्पर्धी बजार रहेको अवस्थामा सफल उद्यमी बन्नु गर्वको विषय भएको बताएका छन् ।

खोटाङ उद्योग वाणिज्य संघको २६ औँ वार्षिक साधारण सभामा शुक्रबार उद्योगी राउतले व्यावसायिक ज्ञान, बजारीकरण, लगानीको सुनिश्चितता नभएको अवस्थामा यस क्षेत्रमा सफल उद्यमी देख्न पाउँदा गर्वको अनुभूति भएको बताएका हुन् । 

‘कोशी प्रदेशको सुन्दर पहाडी  जिल्ला खोटाङ जडीबुटी, जलस्रोत कृषि खेतीको लागि उर्वर भूमि र प्राकृतिक पर्यटनको अथाह सम्भावना भएको जिल्ला हो,’ उनले भने, ‘‎हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेवको अवस्थितिले पनि खोटाङ जिल्लाको सुगन्ध विश्वभरि फैलिएको छ ।’ 

यो जिल्लाको अनुपम प्राकृतिक सुन्दरता कालिका मजुवागढी, भुलभुले, बराहपोखरी, जन्ते ढुङ्गा जस्ता गन्तव्यहरूले लाखौँ पर्यटक भित्र्याउने सामथ्र्य बोकेको उद्योगी राउतको भनाइ थियो । ‘‎सुन्तला, किवी, कागती, अलैची, अदुवा, बेसार ,बाँस, तोरीको प्रशस्त उत्पादन हुने खोटाङमा रहेको लघु, साना तथा मझौला उद्योगहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यस क्षेत्रका जिल्लावासीले रोजगारी पाएका छन्,’ उनले भने, ‘अल्लो कपडा, राडी, नेपाली कागजको उत्पादन ग्रामीण अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान गरेको छ ।’

यस जिल्लाका उद्यमीहरूले आफ्नो मौलिक उत्पादनलाई आफ्नै प्रविधि प्रयोग गरेर संसारभरि प्रवर्द्धन गर्न लागिरहेको अवस्थामा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बजारीकरणमा सहजीकरण गर्न तयार रहेको उद्योगी राउतले प्रतिबद्धता जनाएका हुन् । 

‘विश्वव्यापी रूपमा अहिले प्रविधिको द्रुत विकासले उद्यम व्यवसायको प्रकृति बदलिँदो स्थिति छ,’ उनले भने, ‘त्यसले उपभोक्ताका चाहना र रोजाईमा परिवर्तन आइरहेको हुँदा उपभोक्ताको चाहना र रोजाईलाई ध्यानमा राखेर उद्यम व्यवसाय प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता हो ।’ हालै बाँसबाट उत्पादन हुने वस्तुको महोत्सव गरी बाँसका उत्पादनहरुको बजारीकरणका लागि गरिएको प्रयास सह्रानीय रहेको भन्दै उद्योगी राउतले प्रशंसा गरेका हुन् । 

खोटाङ उद्योग वाणिज्य संघका राजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा खोटाङका जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, दिक्तेल रुपमाकोट मजुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई, खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।