नेपालगन्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालयका दुई कर्मचारीसहित चार जनालाई बुधबार पक्राउ गरेको छ ।

नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा ’नक्कली सवारी चालक अनुमतिपत्र’ वितरणको नाममा करोडौंको लेनदेन गरेको सूचनाका आधारमा अख्तियारले कारबाही अघि बढाएको हो ।  पक्राउ पर्नेमा यातायात कार्यालयका कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका  सञ्चालक शरदकुमार गोराथोकी हुन् ।

अख्तियारलाई प्राप्त सूचना अनुसार यी कर्मचारीहरूले नक्कली ड्राइभिङ लाइसेन्स वितरण गर्दै मासिक ३ करोडभन्दा बढी रकम संकलन गर्ने गरेका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको टोलीले  विद्युतीय  उपकरण, तस्बिर र प्रमाणसहित बाँकेको  विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रदेश यातायात मन्त्रालयसम्मको सेटिङमा लुम्बिनीका विभिन्न यातायात कार्यालयहरूमा लाइसेन्सको व्यापार भइरहेको उजुरीको आधारमा आयोगले छानबिन सुरु गरेको थियो । यस घटनामा संलग्नहरुको बारेमा अनुसन्धान जारी राखिएको छ । अख्तियारले संकलन गरेका प्रमाणहरूका आधारमा छानबिन अघि नै लेनदेनका थप विवरण पत्ता लागेको उल्लेख गरेको छ ।