विराटनगर– जीवनको उत्तराद्र्धमा यति ठूलो पीडा भोग्नुपर्ला भन्ने कल्पना पनि गरेकी थिइनन् डोटीकी ८० वर्षीया काली दमाईले । बुधबार राति सायल–६ दल्लेखस्थित घरमा परेको चट्याङले बुहारी कमला दमाईको ज्यान लिँदा उनका पाँच नाति–नातिनाको एकैछिनमा बिचल्ली भएको छ ।
दुर्घटनामा घाइते बालबालिकाको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । चट्याङले आँखै अगाडि बुहारीको ज्यान लिँदै गरेको देखेकी काली अस्पतालको बेडमा स्तब्ध छिन्— कहिले मूच्र्छा पर्ने, कहिले बर्बराउने ।
मृतक कमलाका ३ महिनाका छोरा शंकर आमाको दुध नपाएर निरन्तर रोइरहेका छन् । अस्पतालले ल्याक्टोजिन दूध दिए पनि राहत छैन । अस्पतालको जनरल वार्डमा उनीहरूलाई निःशुल्क उपचार र खानाको व्यवस्था गरिएको अहेब विपना जोशीले जानकारी दिइन् ।
शिशु शंकरको हेरचाह १० वर्षीया दिदी ताराले गरिरहेकी छन् । डोटेली लवजमा उनले भनिन्, ‘भाइ रुन्छ, एकछिन चुप लाग्दैन । बुबा अहिलेसम्म आइपुगेका छैनन्, बज्यै त्यसै ढलेर बसिरहेकी छन् ।’
कमलाका श्रीमान् लहरी नागरी रोजगारीका लागि भारतमा छन् । घटना थाहा पाएपछि उनी फर्किंदै छन् तर डोटी अझै आइपुगेका छैनन् । एक्लो कमाइले पाल्न गाह्रो भए पछि श्रीमती र सन्तानलाई गत माघमा मात्रै नेपाल फर्काएका लहरीका पाँच सन्तानहरू अहिले अभिभावकविहीन भएका छन् ।
घटनापछि गाउँ शोकमा डुबेको छ । स्थानीय वडाध्यक्ष दीपक साउँदले बालबालिकाको उपचार र संरक्षणमा साथ दिने बताएका छन् । सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले मृतक परिवारलाई काजकिरिया र राहतस्वरूप ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चट्याङमा परी भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरीसमेत घाइते भएकी छन्।