काठमाडौँ– प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयका कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न परिपत्र गरेको छ । प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई पत्र पठाएको खुलासा भएको छ ।

परिपत्रमा भनिएको छ, ‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको अति आवश्यक अवस्थामा बाहेक राजीनामा सिफारिस तथा स्वीकृत नगर्नुहुन अनुरोध ।’

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यद्वारा हस्ताक्षरित परिपत्रमा आन्दोलन लगायतका परिस्थितिलाई ध्यानमा राखेर राजीनामा स्वीकृत नगर्न भनिएको छ । प्रहरी विधेयकमा औषधी उपचार खर्च कटौती गर्ने प्रस्ताव गरिएको हल्ला फैलिएपछि केही समयअघि देखि राजीनामा दिने क्रम बढेको छ ।

तर विधेयकमा खाइपाई आएको सुविधा थयावत राखिएको छ । कनिष्ठ प्रहरीहरूको राजीनामा आफू कार्यरत युनिटको कमान्डरले स्वीकृत गरेर प्रहरी प्रधान कार्यालयमा बोधार्थ पठाउने कानुनी व्यवस्था छ ।