विराटनगर–  पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू  आदेश आइतबार राति १२ बजेसम्मका लागि थपिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यान्ह सूचना जारी गर्दै राति १२ बजेसम्मका लागि  थप गरिएको जानकारी दिएका छन् । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कफ्र्यु आदेश जारी गरिएको छ ।

दुई समुदायको झड्पले उग्र रूप लिएपछि पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु  आदेश जारी भएको हो ।   अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम साँझ साढे ६ बजेदेखि लागू हुने गरी आइतबार  मध्यान्ह १२ बजेसम्म वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका थिए ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबीच झड्प भएको थियो । हिन्दू धर्मावलम्बीहरूद्वारा भगवान हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा सहभागीहरूले उच्छृंखल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि माहोल तनावपूर्ण बनेको हो ।

प्रहरीका अनुसार घण्टाघरदेखि दक्षिणतर्फ वीरगन्ज–३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि ढुंगा प्रहार भएको थियो । त्यसपछि सहभागीले टायर बालेर प्रदर्शन गरे । पसलका फर्निचर निकालेर जलाए । स्थिति अनियन्त्रित  भएपछि प्रहरीले २ राउन्ड हवाई फायर र २५ राउन्ड अश्रुग्यास प्रहार गरेको खुलेको छ । यो क्रममा २५ जना सुरक्षाकर्मी र करिब एक दर्जन स्थानीय घाइते भएका छन् ।

प्रहरी र स्थानीयबीच झडप  नरोकिए पछि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी  अर्यालले बताए ।  उनले भने, 'स्थिति नियन्त्रणमा नआएपछि कर्फ्यु लगायौं। कर्फ्यु लागेपछि सेना सडकमा आयो। स्थिति विस्तारै अब साम्य हुन थालेको छ ।  '