काठमाडौँ– शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा माइतीघर–बानेश्वर सडकखण्डमा सोमबार १३ औँ दिन पनि शिक्षकहरूको प्रदर्शन जारी रह्यो ।
नेपाल महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नयाँ वर्षको दिनलाई उत्सवभन्दा पनि संघर्षका रूपमा उपयोग गरिएको बताए । उनका अनुसार विद्यार्थी, शिक्षक–कर्मचारी र समग्र विद्यालय शिक्षाको उन्नयनका लागि आन्दोलनको विकल्प छैन ।
महासंघले चैत २० देखि चरणबद्ध सडक आन्दोलन थालेको हो । उक्त अवधिमा सरकार र महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन । सरकारले भने शिक्षकका सेवा–सुविधासम्बन्धी निर्णय मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयमार्फत अघि बढाएर शिक्षा ऐन संसद्को आगामी अधिवेशनमा पारित गरिने प्रतिबद्धता जनाउँदै आएको छ । तर महासंघले ठोस सहमति नजुट्दासम्म आन्दोलन जारी राख्ने अडान दोहोर्याउँदै आएको छ ।