काठमाडौँ – विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज साँझ वार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ७ बजेका लागि महासंघका प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् ।
महासंघले दिउँसोसम्म आन्तरिक छलफल गर्दै बैठकमा सहभागी गराउने टोली चयन गर्ने प्रक्रिया अघि बढाएको छ । महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीका अनुसार प्रधानमन्त्रीकै आग्रहमा वार्तामा सहभागी हुने निर्णय भएको छ ।
‘प्रधानमन्त्रीले नै बोलाउनु भएको छ, हामी आफ्ना माग राख्न बैठकमा जान्छौं,’ पराजुलीले भनिन्, ‘तर शिक्षा ऐनको माग पुरा नभएसम्म आन्दोलन रोकिने छैन । बैठक भयो भन्दैमा समाधान निस्कन्छ भन्न सकिन्न ।’ यसअघि शिक्षामन्त्री र शिक्षा सचिवसँग भएको वार्ता सहमति विना टुंगिएको थियो ।
शिक्षकहरू ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । नेपाल शिक्षक संघ वाग्मती प्रदेश अध्यक्ष दीपक सिंखडाका अनुसार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा वार्ता टोली प्रधानमन्त्रीसँग छलफलमा जानेछ ।
शिक्षकहरूले सुरु गरेको आन्दोलन आज १७ औं दिनमा प्रवेश गरेको छ । प्रधानमन्त्री ओलीले भने आन्दोलन सुरु भएको करिब दुई साता पछि वार्ताको पहल गरेका हुन् ।