काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आइतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । वैशाख ६ र ७ गरी यो दुईदिने कार्यक्रममा करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइँदैछ । यससँगै बालबालिकामा कुपोषण परीक्षणसमेत गरिनेछ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको सुरुआत सरकारले २०५० मा आठ जिल्लाबाट गरेको हो ।

यो कार्यक्रम २०५९ देखि देशभर विस्तार गरिएको हो । जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ मा १३ जिल्लाबाट सुरु भइ २०६७ मा राष्ट्रव्यापी रूपमा लागू गरिएको थियो । त्यस्तै बालभिटा वितरण कार्यक्रम २०६४ देखि सञ्चालनमा छ ।

सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भिटामिन ‘ए’ ले बालबालिकामा दृष्टिदोष रोकथाम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।