विराटनगर– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा समानुपातिक सांसद रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका छन् । पन्तलाई पद तथा गोपनीयताको सपथ ग्रहण बिहीबार गराउने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद विद्या भट्टराईले शिक्षामन्त्रीबाट सोमबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी थिइन् । आन्दोलनरत शिक्षकको माग सम्बोधनलगायत मन्त्रालयको कामकाज सञ्चालनमा अनावश्यक हस्तक्षेपका साथै प्रधानमन्त्री ओलीबाट असहयोग भएकोले उनी मन्त्री पदबाट राजिनामा दिएको राजनीतिक वृतमा चर्चा रहेको तर प्रधानमन्त्री ओलीले समेत उक्त विषयलाई खण्डन गरिसकेका छन् ।
शिक्षक आन्दोलनका बीच शिक्षामन्त्री नियुक्त भएका पन्तले शिक्षकको माग सम्बोधन गर्न सक्लान् भन्ने प्रश्न तेर्सिएको छ । शिक्षकको मागलगायत मन्त्रालय सञ्चालनमा प्रधानमन्त्री ओलीको साथ पन्तलाई रहने नरहने प्रश्न रहिरहने एमालेसम्बद्ध नेताहरुको भनाइ छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका अन्य नेताको लोकप्रियता भन्दा पनि आफ्नै लोकप्रियता कायम राख्न गतिविधि गर्दै आएकोप्रति पार्टीका नेताहरु असन्तुष्ट बदै गएका छन् ।