काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति निधन भएको छ । लामो समयदेखि प्रोस्टेट क्यान्सर र मिर्गौला सम्बन्धी समस्याको उपचार गराइरहेका ७७ वर्षीय डंगोलको काठमाडौँको सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।
२००४ सालमा काठमाडौंमा जन्मिएका डंगोल नेपाली कांग्रेस काठमाडौँ जिल्ला कोषाध्यक्ष, जिल्ला सभापति र काठमाडौँ महानगरपालिकाका उपप्रमुखसमेत भइसकेका थिए । राजनीतिमा जुझारू नेताका रूपमा चिनिएका उनी २०६२÷६३ को जनआन्दोलनमा काठमाडौँ क्षेत्रका कमान्डरको रूपमा सक्रिय थिए ।
डंगोलका पत्नी मात्र छन् । उनको नाममा स्थापना गरिएको ट्रस्टमार्फत शिक्षा, पत्रकारिता र नेपाल भाषामा योगदान दिने व्यक्तिहरूलाई हरेक वर्ष पुरस्कार दिइँदै आएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ । त्यसपछि टेकू दोभानमा अन्त्येष्टि गरिने जानकारी पूर्वमन्त्री भीमसेनदास प्रधानले दिएका छन् ।