काठमाडौं — बैंकिङ कसूर र ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले आइतबार काठमाडौं उपत्यकाबाट अलग–अलग स्थानबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू ३३ वर्षीया नेहा अधिकारी र ४१ वर्षीया सविना शाक्यलाई पक्राउ गरेको हो। अधिकारी ललितपुरको महालक्ष्मी नगरपालिका–५ की बासिन्दा हुन् भने शाक्य गोरखा नगरपालिका–४ पोखरीथोक घर भइ काठमाडौंको सामाखुशीमा बस्दै आएकी थिइन्।
जिल्ला अदालत काठमाडौं र ललितपुरले उनीहरूविरुद्ध पक्राउ अनुमति जारी गरेकोमा नेहा अधिकारीलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट र सविना शाक्यलाई काठमाडौं महानगरपालिका–२८ स्थित डिल्लीबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, ठगी मुद्दामा फरार ४१ वर्षीय दिनेश गौतमलाई पनि प्रहरीले आइतबार बिहान नै पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–६, बौद्धमा बस्दै आएका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंले २०८१ फागुन १ गते पक्राउ अनुमति जारी गरेको थियो। उनलाई बौद्धबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनालाई सम्बन्धित जिल्ला प्रहरी परिसरमा बुझाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।