काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ’डाँडामा बसेर महिनामा २–३ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने आफ्नो अघिल्लो भनाइलाई पुनः दोहो¥याउँदै यो परिकल्पना अब सम्भव रहेको बताएका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले यो भनाइलाई ‘सपना’ नभइ ‘नलेज इकोनोमी’ मार्फत सम्भव हुने यथार्थको रूपमा प्रस्तुत गरे ।

थापाले भने, ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईंहरूलाई एउटा प्रसंग याद आउँछ। एउटा डाँडामा बसेर २–३ लाख कमाउन सकिन्छ भन्ने कुराको मैले परिकल्पना गरे। कतिलाई रमाइलो पनि भयो। तर, त्यो परिकल्पना हो। सपना हो। सम्भव पनि छ।’

उनले थपे, ‘किन सम्भव छ भन्नुहुन्छ भने हामी ’नलेज इकोनोमी’मा छिरेका छौं। चीनमा जन्मिएका एउटा केटाले डीपसीक बनाए। सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि उनले च्याट जिपिटीलाई चुनौती दिन्छु भन्दै गर्दा त्यो के कुराले सम्भव भयो त? सबै ठाउँमा सम्भावनाको ढोका खुलेको छ।’

थापाले विपन्न लक्षित कार्यक्रमलाई ‘नलेज इकोनोमी’ अवधारणामा लैजान सकिने बताएका छन्। ‘नलेज इकोनोमीले ल्याउने अवसरबाट अब विपन्न वर्गका युवायुवती वञ्चित हुनु हुँदैन,’ उनले भने ।

उनको यो अभिव्यक्तिले नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रका युवाहरूलाई डिजिटल सीप, अनलाइन उद्यमशीलता र प्रविधिमा आधारित आम्दानीका अवसरहरूमा जोड दिन प्रेरणा दिन सक्छ। थापाको भनाइले नेपालको युवाशक्तिलाई नलेज इकोनोमीमा सहभागी गराउने र देशभित्रै रोजगारी सिर्जना गर्ने सम्भावनालाई उजागर गरेको छ।