विराटनगर– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको प्रस्तावित एकता घोषणा कार्यक्रम स्थगित गरिएको छ। नाउपाका संरक्षक रेशम चौधरीको पुनःपक्राउपछि बुधबारका लागि तय गरिएको एकता घोषणा कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिएका छन्।

राउतले भने, ‘रेशमजीलाई प्रहरीले पक्राउ गरेकाले हाल स्थगित गरेका छौँ। यो घटनाको हामी भत्सर्ना गर्दैछौँ। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’

दुई पार्टीबीच बुधबार एकता घोषणा गर्ने तयारी थियो। यसका लागि देशभरबाट नेता कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भएका थिए। चौधरी पक्राउ परेपछि नेता तथा कार्यकर्ताले प्रज्ञा परिसरमा केहीबेर नाराबाजी गरेका थिए।

सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले चौधरीलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए। काठमाडौँ प्रहरी परिसरका एसपी अपिलराज बोहोराले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरिएको जानकारी दिएका छन्। चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइएको प्रहरीले जनाएको छ।

२०७२ को भदौमा कैलालीको टिकापुरमा भएको घटनामा दोषी ठहर गर्दै अदालतले चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। तर, २०८० जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि उनलाई पुनःपक्राउ गरिएको हो। यसअघि सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका चौधरीको जन्मकैदको फैसला सदर गरेको थियो। सर्वोच्च अदालतको निर्णय अनुसार चौधरीलाई अझै १४ वर्ष जेल सजाय भोग्नुपर्नेछ ।

यस घटनाले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रियामा अनिश्चितता थपेको छ। चौधरीको पुनःपक्राउ र सर्वोच्च अदालतको निर्णयले पार्टी एकता र मधेस केन्द्रित राजनीति माथि गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ।