काठमाडौँ–  वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने नाममा रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, सोही नगरपालिका- ३ बसोबास गर्दै आएका काभ्रेपलाञ्चोक पाँचखाल –३ का २९ वर्षीय सुजन गिरी, काठमाडौँ–३ बस्ने पाल्पा रम्भा–५ का ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौँ तार्केश्वर–४ की ३३ वर्षीया सरस्वती देवकोटा छन्।

पक्राउ परेकामध्ये सम्पूर्ण केसीले बेलायत पठाइदिने भन्दै एक व्यक्तिबाट ३५ लाख रुपैयाँ ठगी गरेका थिए। सुजन गिरीले यस्तै बहानामा अर्को पीडितबाट २६ लाख ६५ हजार रुपैयाँ लिएका थिए। सिर बहादुर बरालले दक्षिण कोरिया पठाइदिने प्रलोभनमा ७ लाख ५० हजार रुपैयाँ असुलेका थिए भने सरस्वती देवकोटाले यूएई पठाइदिने भन्दै दुई जनाबाट १ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्।

पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सम्पूर्ण केसीलाई ललितपुर महालक्ष्मी–५ बाट मंगलबार, सुजन गिरीलाई काठमाडौँ –३१ बाट बुधबार र सिर बहादुर बराल तथा सरस्वती देवकोटालाई काठमाडौँ–१२ बाट बुधबार नै पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।