काठमाडौँ  — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका कारण देशभर आंशिकदेखि सामान्य बदली भएको छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ। साथै देशका पहाडी क्षेत्रका थोरै र अन्य भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना पनि छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी र गण्डकीका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात पनि हुन सक्ने देखिएको छ।

महाशाखाले मौसमको यो अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने बताउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।