विराटनगर– कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) बिहान  सुरु हुँदैछ । परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । जेठ २ सम्म जारी रहनेछ।

परीक्षा अवधि भरि केन्द्राध्यक्ष बाहेक अरू कसैले मोबाइल फोन लैजान नपाउने र परीक्षार्थीहरूलाई मोबाइल, स्मार्ट घडी, वा अन्य इलेक्ट्रोनिक उपकरण (लोड नभएको क्याल्कुलेटरबाहेक) प्रयोग गर्न निषेध गरिएको छ। परीक्षाको मर्यादा उल्लङ्घन गर्ने शिक्षक, कर्मचारी वा परीक्षार्थीमाथि शिक्षा ऐन २०२८ को दफा १७ (१ क) ‘च’ अनुसार कानुनी कारबाही गरिने राष्ट्रिय परीक्षा बोर्डले चेतावनी दिएको छ।

विशेष आवश्यकताका परीक्षार्थी—दृष्टिविहीन, सुस्त मनस्थिति, श्रवण समस्यायुक्त वा अन्य अपाङ्गता भएका—का लागि विशेष व्यवस्था मिलाइएको छ। कारागार र बाल सुधारगृहमा रहेका विद्यार्थीहरूलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ।

परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना प्रवेश गर्न पाइने छैन। परीक्षाको मर्यादा उल्लङ्घन गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षकलाई तत्काल परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन हुँदैछ। परीक्षा साधारण, परम्परागत र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि लागु हुने बोर्डले जनाएको छ।

बोर्डले देशभरका परीक्षा केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गरेका छन्। बोर्डका अनुसार देशभर १,५९० परीक्षा केन्द्र तथा जापानमा १ गरी कुल १,५९१ परीक्षा केन्द्र तोकिएको छ। काठमाडौँमा सबैभन्दा बढी १६२ परीक्षा केन्द्र रहेका छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र तोकिएका छन्। 

परीक्षा सञ्चालनका लागि त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष, करिब २,००० कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी, र २०,००० सुरक्षाकर्मी परिचालन गरिएको छ। परीक्षामा ५,२०२ विद्यालयका नियमिततर्फ १,९८,८७५ छात्र र १,९७,०१३ छात्रा गरी ३,९५,८८८ तथा आंशिकतर्फ १,१५,६१७ परीक्षार्थी सहभागी हुँदैछन्। कुल परीक्षार्थी संख्या ५,११,५२५ रहेको बोर्डले जनाएको छ। सबैभन्दा बढी परीक्षार्थी काठमाडौँबाट ६८,१३३ जना छन् भने सबैभन्दा कम मनाङबाट ४५ जना सहभागी भएका छन्।