विराटनगर– अष्ट्रेलियामा शनिबार सम्पन्न संघीय निर्वाचनमा प्रमुख विपक्षी दल लिबरल पार्टीले गम्भीर पराजय बेहोरेको छ। प्रारम्भिक नतिजाका आधारमा यो पार्टीका लागि इतिहासकै सबैभन्दा खराब चुनावी प्रदर्शन हुने देखिएको छ।
२४ वर्षदेखि आफ्नो निर्वाचन क्षेत्र डिक्सन जित्दै आएका पार्टी नेता पिटर डटन समेत यसपटक पराजित भएका छन्। यससँगै उनी अष्ट्रेलियाको संघीय इतिहासमा आफ्नो क्षेत्र गुमाउँदै चुनाव हार्ने पहिलो विपक्षी नेता बनेका छन्।
डटनलाई लेबर पार्टीकी उम्मेदवार अली फ्रान्सले पराजित गरेकी हुन्। प्रधानमन्त्री एन्थोनी एल्बनीजले चुनावपछिको पहिलो टिप्पणीमा भने, ‘अष्ट्रेलियाली जनताले विभाजन होइन, एकताको पक्षमा मतदान गरेका छन्।’
लेबर पार्टीले महानगर क्षेत्रहरू सिड्नी, मेलबर्न, ब्रिसबेन र एडेलेडमा निर्णायक अग्रता बनाउँदै लिबरल पार्टीलाई सहरहरूबाट लगभग समाप्तजस्तै बनाएको छ। लिबरल पार्टीभित्र पराजयको समीक्षा गर्न दबाव बढेको छ। पार्टीका सांसद कीथ वोलाहानले गम्भीर समीक्षा आवश्यक भएको बताएका छन्। उनले भने, ‘हामीले अष्ट्रेलियाली जनताको सन्देश सुन्नुपर्छ। अहिलेको प्राथमिकता जनताको आवाज सुन्ने हो।’
पार्टीभित्र भने नेता डटनकै नेतृत्वप्रति प्रश्न उठ्न थालेका छन्। पूर्व प्रधानमन्त्री स्कट मोरिसनका सल्लाहकार एन्ड्रु कार्सवेलले सार्वजनिक रूपमा भनेका छन्, ‘डटन प्रयोग असफल भयो। यो कोएलिशनका लागि पूर्ण विपत्ति हो।’
डटनप्रति जनताको समर्थन कमजोर हुनु, उनलाई डोनाल्ड ट्रम्पसँग तुलना गरिनु र अभियान प्रभावहीन हुनु पराजयका प्रमुख कारणहरू मानिएका छन्। डटनको हारसँगै लिबरल पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ। पार्टीले आगामी दिनमा आत्मसमिक्षा र रणनीतिक पुनरावृत्तिमार्फत जनमत पुनः आर्जन गर्ने प्रयास गर्ने जनाइएको छ।