किमाथांका (संखुवासभा)– विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका क्षेत्रमा पर्ने यस हिमालमा अमेरिकी नागरिक ३९ वर्षीय एलेक्स जेण्डर पन्काओको आइतबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिएका छन्।
पन्काओ हिमालयन गाइड्स ट्रेकिङ कम्पनीमार्फत मकालु आरोहणमा सहभागी भएका थिए। तेस्रो क्याम्पमा पुगेपछि बास बस्न दोस्रो क्याम्प फर्कँदै गर्दा उनको मृत्यु भएको उनले बताए।
उनीसहित अन्य तीन विदेशी र चार नेपाली नागरिक २७ अप्रिलमा सोलुखुम्बु हुँदै संखुवासभा पुगेका थिए। पन्काओको मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब १२ दिनको पैदल दुरीमा रहेकोले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
प्रहरीका अनुसार पन्काओसँगै रहेका अन्य फ्रान्सेली आरोहीहरू सकुशल रहेका छन्। मृतकको शव हेलिकोप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको छ।
घटनाको जानकारीलगत्तै सोमबार दिउँसो प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।भौगोलिक रूपमा विकट मानिने मकालु क्षेत्रमा यातायात र सञ्चार सुविधा अत्यन्तै कमजोर छन्, जसका कारण उद्धारमा समेत ढिलाइ हुने गरेको छ। (स्रोत : रासस)