काठमाडौँ — राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी आरोपमा अनुसन्धानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २३ जना विरुद्ध पाँच दिनको म्याद थप गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार बिहीबार मिश्र, प्रसाईंलगायतलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उनीहरू बारे थप अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो।

उनीहरूविरुद्ध सुरुआतमा राज्यविरुद्धको कसुर र संगठित अपराधअन्तर्गत अनुसन्धान चलिरहेकोमा बयान प्रक्रिया ढिलो भएकाले पछिल्लो चरणमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा समेत अनुसन्धान थालिएको एसपी बोहराले जानकारी दिए।यसैगरी उक्त घटनामा संलग्न आरोपमा अनुसन्धान भइरहेका अन्य २८ जनाको हकमा भने अदालतले ७ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

गत चैत १५ मा काठमाडौँको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक रुप लिंदा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए। प्रदर्शनका क्रममा सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड समेत भएको थियो।