विराटनगर— वैदेशिक रोजगारीको सुनौलो सपना देखाएर रकम उठाउने ठगी गिरोह फेरि सक्रिय देखिएको छ। विदेश पठाइदिने प्रलोभनमा पारी ६० लाख रुपैयाँभन्दा बढी ठगेको आरोपमा चार जनालाई काठमाडौँबाट नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले जर्मनी, अमेरिका र क्यानाडा पठाइदिने निहुँमा ठगी गर्ने चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमध्ये धादिङ घर भइ बुढानिलकण्ठमा बसोबास गर्ने ३२ वर्षीय अर्जुन सुर्खेती र तारकेश्वर नगरपालिका–५ का २४ वर्षीय रूपेश ढकालले दुई जनालाई जर्मनी लैजाने भन्दै ३५ लाख रुपैयाँ उठाएका थिए। उनीहरू रकम लिएपछि सम्पर्कविहीन भएका थिए। यस्तै दाङ बबईका ५० वर्षीय मोतीसरा खत्रीले एक व्यक्तिलाई अमेरिका लैजाने भन्दै ५ लाख रुपैयाँ ठगेको खुलेको छ। तीनैजनालाई प्रहरी टोलीले बुढानिलकण्ठ, काठमाडौँ–१२ र काठमाडौँ–१३ बाट क्रमशः पक्राउ गरेको हो।

यसैबीच क्यानाडाको डिपेन्डेन्ट भिसा देखाएर २० लाख रुपैयाँ ठगी गर्ने आरोपमा दोलखाकी २७ वर्षीया सुजिता अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। अधिकारीले आफूले क्यानाडाको स्टडी भिसा पाइसकेको र पीडितलाई डिपेन्डेन्ट भिसामा लैजाने आश्वासन दिँदै रकम लिएकी थिइन्। उनलाई काठमाडौं–१२ स्थित टेकुबाट नियन्त्रणमा लिइएको हो।

प्रणालीगत कमजोरी र ठगीको चक्र
यो घटना वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीको एउटा प्रतिनिधि उदाहरण मात्र हो। प्रहरीको भनाइमा ठगहरूले सामाजिक सञ्जाल, चिनजान वा व्यक्तिगतरूपमा पीडितलाई नक्कली कागजात र झूटा आश्वासन दिएर विश्वास जितेर ठगीको जालोमा पार्छन्। नेपालमा वैदेशिक रोजगारीप्रति उच्च आकर्षण रहेकोमा सरकारी अनुमतिबिनाको दलालीमार्फत हुने यस्ता गतिविधिहरू मौलाउँदै गएको देखिन्छ।

विशेषगरी डिपेन्डेन्ट भिसाका नाममा भइरहेको ठगी नयाँ स्वरूपमा देखिएको प्रहरीको ठम्याइ छ।‘क्यानाडा, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरूमा डिपेन्डेन्ट भिसाको लोभ देखाएर पैसा उठाउने गिरोह सक्रिय छन्,’ एक अनुसन्धान अधिकृतले भने ।

पक्राउ परेका सबै व्यक्तिमाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यस्ता ठगीका घटनालाई रोक्न जनचेतना अभिवृद्धि र सरकारी नियमनको प्रभावकारी कार्यान्वयन जरुरी देखिन्छ।