विराटनगर— गृहमन्त्रीको साथी हुँ भन्दै सरकारी कर्मचारीलाई धम्की र गालीगलौज गर्ने एक व्यक्तिलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ निवासी ५० वर्षीय राजकुमार श्रेष्ठ हुन्। उनले आफू गृहमन्त्रीको नजिकको साथी भएको दाबी गर्दै विभिन्न सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारीलाई फोनमार्फत गालीगलौज, डरत्रास र धम्की दिने गरेको आरोप छ।

श्रेष्ठले कर्मचारीको दैनिक कार्यसञ्चालनमा समेत बाधा पुर्याएको सूचना पाएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बनेपाको तीनदोबाटो (नगरपालिका–८) बाट पक्राउ गरेको हो।

उनीमाथि राष्ट्रसेवक कर्मचारीलाई कामकाजमा बाधा पुर्याएको कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।