विराटनगर— ट्राफिक ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारलाई ट्राफिक प्रहरीको इन्स्पेक्टरले कुटपिट गरेका छन्।थानकोट ट्राफिक प्रहरीका अनुसार कुटपिटमा परेका प्रहरी सहायक हवल्दार मदन खड्का नागढुंगा ट्राफिकमा कार्यरत छन्। उनलाई इन्स्पेक्टर जितेन्द्र साहले हातपात गरेका हुन्।
यस घटनाको सम्बन्धमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन थालेको छ। ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार घटनाबारे विस्तृत विवरण संकलन भइरहेको छ।
‘घटनाबारे जानकारी पाएका छौं,’ एसपी गिरीले भने, ‘कसरी र के कारणले यस्तो भयो भन्ने विषयमा बुझ्दैछौं। कुटपिट भएको हो वा काम गर्न निर्देशन दिएको थियो भन्ने छुट्याउँदैछौं।’
इन्स्पेक्टर साहले सहायक हवल्दारलाई थप्पड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका कारण प्रहरी संगठनमाथि नै प्रश्न उठिरहेको छ।ट्राफिक प्रहरी संगठनभित्रको अनुशासन र व्यवहार सम्बन्धी प्रश्न पुनः उठ्न थालेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालका अनुसार उक्त घटनामा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको छ । थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’का विषयमा विवाद हुँदा साहले खड्कालाई कुटेको खुलेको छ । थानकोट प्रहरीका अनुसार ट्राफिक जामका क्रममा भारतीय नम्बर प्लेटको गाडी नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्दै थियो, यो विषयमा विवाद हुँदा साहले हवल्दार खड्कालाई कुटेका हुन् ।
एक प्रहरीका अनुसार,भारतीय नम्बर प्लेटका गाडीलाई नागढुंगामा जाँचका विषयमा केही दिनअघि समेत ट्राफिक प्रहरी र जाँचमा खटिएका प्रहरीबीच विवाद भएको थियो । ती प्रहरी भन्छन्, 'भारतीय नम्बर प्लेटको गाडी आएको थियो । ट्राफिक जाम पनि थियो । त्यही बेला गाडी नरोक भन्दा नमानेपछि निरीक्षक साहले कुटेका हुन् ।'
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील बोहराले घटनाबारे छानबिन गर्न प्रहरी वृत्त थानकोटका डीएसपी एलिजा गिरीलाई निर्देशन दिइसकेको बताए ।प्रहरी निरीक्षकबाट कुटाइ खाने हवल्दार खड्का नागढुंगा प्रहरी प्रभागमा कार्यरत छन् । निरीक्षक साह भने ट्राफिक प्रहरी प्रभाव नागढुंगाका प्रमुख हुन् ।
#जितेन्द्र साह