विराटनगर – झापाको हल्दिबारी गाउँपालिकामा बुधबार राति आएको हावाहुरीमा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–५ त्रिवेणीचोकका ६५ वर्षीय मानबहादुर मगर हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार मध्यराति आएको हावाहुरीले टिनको छाना भएको टाँडे घर भत्काएको थियो।
घरभित्र सुतिरहेका मगर छानाबाट खसेको विमले थिचिएर गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
राति साढे १२ बजे अस्थायी प्रहरी चौकी कन्चनश्रीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
#हावाहुरी