विराटनगर— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरूलाई आवश्यकता अनुसार हिउँदे वा वर्षे बिदाको समयमा पनि पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ।गत चैतमा काठमाडौँ केन्द्रित शिक्षक तथा कर्मचारीको आन्दोलनका कारण विद्यार्थी भर्ना तथा पठनपाठनमा परेको अवरोधलाई पूर्ति गर्न मन्त्रालयले यस्तो अनुरोध गरेको हो।

‘पेसागत आन्दोलनमा शिक्षक तथा कर्मचारीको सहभागिता हुँदा विद्यालयमा अनुपस्थिति देखिएको, त्यसका कारण परेको असर व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले नेपाल शिक्षक महासंघको प्रतिबद्धताका आधारमा पनि आवश्यक समायोजन गर्न सामुदायिक विद्यालयहरूलाई अनुरोध गरेको छ।शिक्षक तथा कर्मचारीहरू अहिले विद्यालय फर्किसकेको र नियमित शैक्षिक गतिविधिमा संलग्न भइरहेका सन्दर्भमा मन्त्रालयले सबै स्थानीय तह, विद्यालय तथा सरोकारवालाहरूलाई समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गर्न विशेष अनुरोध गरेको छ।

#सामुदायिक