विराटनगर — नेपाल प्रहरी साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासँगै नेपाल प्रहरीको झण्डा र ‘लैंगिक हिंसा विरुद्ध’ को सन्देशसहितको ब्यानर फहराएकी हुन्।

यस साहसिक अभियानका लागि प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले चैत २५ मा शेर्पालाई आवश्यक निर्देशन र शुभकामनासहित झण्डा हस्तान्तरण गरेका थिए। कुन्जाङ सहितको आरोहण टोली त्यसपछि चैत २८ मा काठमाडौँबाट सगरमाथातर्फ प्रस्थान गरेको थियो।

नेपाल प्रहरीको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी दोस्रो प्रहरी अधिकृत हुन्। यसअघि २०८० जेठ २ मा प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले पहिलो पटक प्रहरी प्रतिनिधिको हैसियतमा सगरमाथा आरोहण गरेका थिए।

नेपाल प्रहरी विगतदेखि हिमाली अभियानमा सक्रिय रहँदै आएको छ। २०३१ सालमा ९ सदस्यीय प्रहरी टोलीले ६,९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। त्यस्तै २०३३ असोज १६ मा २७ सदस्यीय टोली र २०४१ भदौ २६ मा ३१ सदस्यीय महिला टोलीले क्रमशः ६,११९ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका थिए।

साथै सगरमाथा सरसफाइ अभियानदेखि अन्य हिमाली क्षेत्रमा प्रहरीको सहभागिता उल्लेखनीय रहँदै आएको छ। नेपाल प्रहरीले यस्ता प्रेरणादायी र साहसिक कार्यहरूलाई भविष्यमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

#कुन्जाङ #छोपेल #शेर्पा