काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापनाको मागलाई नेपाली जनताले गहिरो रूपमा बोकेको दाबी गरेका छन्।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता जोलीले नेपालका ८१.२ प्रतिशत हिन्दु जनता हिन्दु राष्ट्रको पक्षमा रहेको जनाएका छन् । उनले आफू त्यस भावनासँग सहमत रहेको बताए। उनले भने, ‘यदि नेपालका ८१.२ प्रतिशत हिन्दु जनताले हिन्दु राष्ट्र चाहन्छन् भने म त्यसमा साथ दिन तयार छु।’

इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा आएका जोलीले राष्ट्रपति रामचन्द्र पौडेल तथा विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेको जानकारी पनि दिए। भ्रमणका क्रममा नेपाली जनताको भावना बुझ्न पाएको उल्लेख गर्दै उनले नेपाली राजनीतिक दलहरूले जनभावनाको कदर गर्दै पुनःविचार गर्नुपर्ने समय आएको बताए।

जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०२१ मा राम मन्दिरसम्बन्धी अभिव्यक्तिको स्मरण गर्दै नेपाल–भारतबीचको साझा सांस्कृतिक सम्बन्धको प्रसंग उठाए। ‘राम मन्दिर निर्माणको सन्दर्भमा ओलीले बोल्नु भएका कुरा मेरो मस्तिष्कमा अझै ताजै छ,’ उनले भने।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिइसकेको उल्लेख गर्दै जोलीले जनताको भावना अनुसार लोकतन्त्र अघि बढे अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

नेपाल–भारत सम्बन्धबारे उनले विगतका महत्वपूर्ण क्षणहरूको चर्चा गर्दै भूकम्पको बेला भारतले नेपाललाई गरेको सहयोग र पहलगाम आतंकवादी आक्रमणपछिको ऐक्यबद्धताको स्मरण गरे। ‘१२ घण्टाभित्र प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई समर्थन जनाउँदै फोन गरेका थिए, जुन निकै महत्त्वपूर्ण कदम थियो,’ उनले भने।

भारतको अयोध्यामा बनेको राम मन्दिरले स्थानीय विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले नेपालमा पनि सांस्कृतिक आत्मपहिचानको संरक्षणका माध्यमबाट विकास सम्भव हुने धारणा राखे।

आतंकवादविरुद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कडा नीति प्रसंग ल्याउँदै जोलीले भने, ‘ओसामा बिन लादेनलाई अमेरिकाले खोजेर समाप्त पारेजस्तै पहलगाम आक्रमणमा संलग्न आतंककारीहरूलाई मोदीले पनि समाप्त पार्नुहुनेछ।’

२० वर्षमा २२ पटक नेपाल भ्रमण गरिसकेको उल्लेख गर्दै जोलीले नेपालसँगको आत्मीय सम्बन्धप्रति गहिरो सम्मान व्यक्त गरे। ‘यहाँ आइपुग्दा माटोको टिका लगाउँछु, मभित्र नेपालको पुरानो सम्बन्धको गहिरो आभास छ,’ उनले भने।

#हिन्दु #राष्ट्र #पुनःस्थापना