सहर तथा बस्तीका ढल सफा गर्ने, खोलानालामा थुप्रिएका गेग्र्यान हटाउने र पानी निकास सुचारु गर्न निर्देशन दिइएको छ। सरकारी, गैरसरकारी, निजी तथा मानवीय क्षेत्रका संस्थाहरू, स्थानीय समुदाय तथा स्वयंसेवकहरूसँग सहकार्य र समन्वय गर्न पनि स्थानीय तहलाई आग्रह गरिएको छ।

विराटनगर– सरकारले आगामी मनसुनलाई लक्षित गर्दै देशभरका सबै पालिकालाई आपतकालीन पूर्वतयारी गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयबाट जारी मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्रमार्फत स्थानीय तहहरूलाई सचेत गराएको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत उक्त कार्ययोजनाको छायाँप्रति समेत संलग्न गर्दै मन्त्रालयले सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र पठाएको छ।

मन्त्रालयका शाखा अधिकृत सन्तोषकुमार खत्रीले यस वर्ष मनसुनमा अत्यधिक वर्षाको सम्भावना रहेकाले स्थानीय तहबाट यथोचित तयारी आवश्यक भएको बताए। ‘पालिकाले आफ्नो क्षेत्रमा पर्ने जिम्मेवारीअनुसार कार्ययोजना कार्यान्वयन गर्न र गराउनुपर्नेछ,’ खत्रीले भने ।

परिपत्रमा स्थानीय तहलाई पालिकास्तरीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्न, उक्त सम्बन्धमा मन्त्रालयलाई जानकारी गराउन, साथै मनसुनजन्य विपद्बारे स्थानीय समुदायलाई जागरुक बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि भनिएको छ।

मनसुन अवधिमा खोज, उद्धार तथा राहत कार्यका लागि नगर प्रहरीलाई आवश्यक साधनस्रोतसहित तयारी अवस्थामा राख्न र स्थानीय स्वयंसेवकहरूलाई परिचालन गर्नसमेत परिपत्रमा भनिएको छ।

साथै पूर्वतयारीका क्रममा सहर तथा बस्तीका ढल सफा गर्ने, खोलानालामा थुप्रिएका गेग्र्यान हटाउने र पानी निकास सुचारु गर्न निर्देशन दिइएको छ। सरकारी, गैरसरकारी, निजी तथा मानवीय क्षेत्रका संस्थाहरू, स्थानीय समुदाय तथा स्वयंसेवकहरूसँग सहकार्य र समन्वय गर्न पनि स्थानीय तहलाई आग्रह गरिएको छ।

पालिकास्तरमा आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाउने, ‘कमान्ड पोष्ट’ स्थापना गरी प्रभावकारी सञ्चालन गर्ने, मनसुन पूर्वसूचना प्रणाली विकास गर्ने र विपद्को समयमा हुनसक्ने कालोबजारी, कृत्रिम अभाव तथा आपराधिक गतिविधिमा नियन्त्रण राख्ने व्यवस्था गर्न पनि परिपत्रमार्फत निर्देशन दिइएको छ।
 

#मनसुन#आपतकालीन# पूर्वतयारी