विराटनगर– प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जनताको झोले’ भनेपछि देशभर ‘झोले’ शब्दको चर्चा चुलिएको छ। गत शनिबारको उक्त अभिव्यक्तिपछि ‘झोले’ शब्द सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेको छ, जसमा एमालेका शीर्ष नेता तथा कार्यकर्ताहरू खुला रुपमा सहभागी भएका छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश अनुसार ‘झोले’ शब्दका तीन अर्थ छन्— (१) अर्कोको झोला बोक्ने, (२) झोल भएको अर्थात् रसदार र (३) झोला बोकेर हिँड्ने व्यक्ति। प्रधानमन्त्री ओलीले आफूलाई भनेको अर्थ— ‘जनताको झोला बोक्ने’ संकेत गर्दै ‘झोले’ शब्दको नकारात्मक राजनीतिक प्रयोगलाई सकारात्मक रूपमा सामान्यीकरण गर्ने प्रयास गरेका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ शीर्षकमा पोस्ट सार्वजनिक गर्दै भनेका छन्, ‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।’ उनले थप लेखेका छन्, ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’
ओलीको उक्त पोस्ट सार्वजनिक भएसँगै उनका सचिवालय सदस्यहरू, पार्टी नेताहरू र कार्यकर्ताहरूले समान टेम्प्लेटमा ’म झोले हो’ लेखिएको पोस्टरहरू सामाजिक सञ्जालमा साझा गर्न थालेका छन्। यस अभियानमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ, मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनीता बराल, सांसद सुहाङ नेम्वाङ र राष्ट्रिय युवा संगठनका अध्यक्ष क्षितिज थेवा लगायत नेताहरू सहभागी छन्।
राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आन्दोलनरत समूहहरूद्वारा सत्तारूढ दलका कार्यकर्तालाई ‘झोले’ भन्दै गाली गरिँदै आएको सन्दर्भमा एमालेले यस शब्दलाई आत्मसात गर्दै नयाँ सन्देश प्रवाह गर्ने रणनीति बनाएको देखिन्छ।
नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा गत आइतबार पनि ओलीले भनेका थिए, ‘म एमालेको झोले हुँ। यतिभन्दा एमाले विरोधीहरूलाई चित्त बुझ्छ होला। म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु। यसमा मलाई गर्व छ।’
ओलीले अघिल्ला वर्षहरूमा पार्टी विभाजनको पीडा, व्यक्तिगत महत्वाकांक्षा र विचारहीन आक्रमणहरूका बाबजुद एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्न सफल भएको जिकिर गर्दै भने, ‘विचार र विकासको नायक पार्टीलाई सिध्याउने सपना देख्नेहरू आज मूकदर्शक भएका छन्। आज कोही पनि एमालेलाई भित्तामा टाँसिदिन्छु भन्ने स्थितिमा छैनन्।’ अन्त्यमा उनले ’मिसन २०८४’ का लागि सबै नेता र कार्यकर्तालाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरेका छन्।
#झोले