विराटनगर –जल तथा मौसम विज्ञान विभागले आज (बुधबार) देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना औंल्याएको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको चेतावनी पनि दिइएको छ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोसी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना प्रबल रहेको विभागले जनाएको छ।

त्यस्तै उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ।रातिको मौसमबारे विभागले जानकारी दिँदै भनेको छ, 'कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतः सफा वा आंशिक बदली रहने देखिन्छ।'

रातिको समयमा पनि कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा अन्य पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ।

यस्तै कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा र बाँकी उच्च भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपात पनि हुन सक्नेछ।

हाल देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको विभागको भनाइ छ। कोसी प्रदेशमा भने मनसुनी वायुको प्रभाव व्यापक रहेको जनाइएको छ।

#कोसी# मधेस #प्रदेश