विराटनगर– कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२–०८३ का लागि ल्याएको बजेट प्रदेशसभाबाट शुक्रबार पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा बजेट पारितका लागि गरेको प्रस्ताव बहुमत ध्वनी मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पा र प्रतिपक्षी दल नेकपा (एकिकृत समाजवादी) की प्रदेश सांसद खिनु लङ्वा लिम्बूले प्रदेशसभामा पेश गरेको बजेटमा खर्च कटौतीसम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत भएको थियो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री मगरले आउँदो आर्थिक वर्ष २०८२–०८३ का लागि प्रदेशसभामा असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका थिए ।
चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पूँजिगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको बताएका हुन् । कूल विनियोजन बजेटमा स्थानीय तहलाई वितीय हस्तान्तरणतर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ ।
अनुमान गरिएको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक स्रोतबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १०, समपुरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरबाट जम्मा ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख र बाकी ३ अर्ब १३ करोड नगद मौजदातबाट व्यहोरिनेछ ।
यो बजेट आउँदो साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।