विराटनगर– भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले कैदीबन्दी धमाधम बिरामी परिरहेका झुम्का कारागारको शुक्रबार निरीक्षण गरेका छन् । उनले निरीक्षणका क्रममा कारागारमा बैदीबन्दी जीवन बिताइरहेका १ हजार ७९० जनामध्ये भदौ १५ गते यता ६ सयभन्दा बढी कैदीबन्दी बिरामी परिसकेकाले कारागारमा रहेका सबै कैदीबन्दीको स्वास्थ्य परीक्षण गराई उपचार गराउन निर्देशन दिएका हुन् । कारागारमा संक्रामक रोग फैलिएको हुन सक्ने आशंका देखिएको हुँदा मन्त्री राईले सबै जनाको स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएका छन् ।
कारागारमा रहेका कैदीबन्दीहरुमध्ये उच्च ज्वरो र श्वास फेर्न गाह्रो भएर गम्भीर बिरामी भएका जलेश्वर यादवको भदौ १८ गते इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ । कारागारमा रहेका कैदीबन्दीहरुमध्ये साउन १५ गतेदेखि उच्च ज्वरो आउने, खोकी लाग्ने, टाउँको दुख्ने, बान्ता हुने, रिङटा लाग्ने, जीउ दुख्ने जस्ता लक्षण देखिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताएका छन् ।
उनले कारागारका कैदीबन्दीमध्ये हालसम्ममा स्वास्थ्य परीक्षण गरिएकामध्ये मानबहादुर राईमा जापानिज इन्सेफलाइटिस रोग भेटिएको र उनको उपचार बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको बताएका हुन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा विज्ञ चिकित्सक टोली खटाएर ५ सय जनाको स्वास्थ्य परीक्षण गरिएको जसमध्ये १३७ जनामा डेँगु, ३० जनामा कोरोना परीक्षण गरिएको थियो ।