विराटनगर– मोरङ जिल्ला अदालतबाट मुद्दाकाे किनारा लाग्ने पर्खाइमा रहेका बन्दी २९ वर्षीय किसुन टुडु सतारको काेशी अस्पतालमा उपचारकाे क्रममा मंगलबार मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ का उनी जबरजस्ती करणी मुद्दाको पूर्पक्षको क्रममा माेरङ कारगारमा थिए ।
अचानक रिंगटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि माघ २६ मा कोशी अस्पतालमा भर्ना गरिएकाे कारागारका जेलर गौरव ढुंगेलले बताए । टुडुको उपचारको क्रममा दिउँसाे पौन दुई बजे निधन भएको थियो । टुडुलाई अदालतले गत साउन ११ मा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । शव कोशी अस्पतालमै राखिएको छ । परिवारका सदस्य सम्पर्कमा आए पछि जिम्मा लगाउने जेलर ढुंगेलले बताए ।