विराटनगर- ताप्लेजुङको सुन्दर पर्यटकीय गनतव्य पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा निरन्तरको आन्दोलनले हिंसात्मक रुप लिन थाले पछि स्थानीय प्रशासनले आइतबार बिहानैदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले  फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा भएको झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार यी प्रदर्शनले स्थानीय स्तरमा  प्रतिकूल स्थिति सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी  गरेको हो ।

प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

निषेधाज्ञा क्षेत्रको सीमा

१. फुङलिङ नगरपालिका बजार क्षेत्र

पूर्व  : फुङलिङ–७, सल्लेरी
पश्चिम : फुङलिङ–७, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म)
उत्तर  : फुङलिङ–४, उकालीपानी
दक्षिण : फुङलिङ–६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)

२. काफ्लेपाटी–बल्लुडाँडा क्षेत्र

पूर्वः पर्यटक प्रहरी भवनको १०० मिटर इलाका

पश्चिमः बल्लुडाँडा र डडेले इलाका
उत्तर : केबलकार बेस स्टेशन
दक्षिण : नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६. उपदफा ३ (क) बमोजिम उक्त आदेश जारी भएको उल्लेख गरिएको छ।

अर्को आदेश नभएसम्मको लागि निषेध आदेश जारी गरिएको छ । 'घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणको लागि जानकारी गराइन्छ,’ आदेशमा भनिएको छ।पाथीभरा क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीच पटक/पटक झडप भएका छन्।